काठमाडौं– उदयपुरमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको यात्रुवाहक जिप बिहीबार बिहान उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा नौ जना घाइते भएको उनले बताए ।
मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशनको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए ।धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको जिप बिहीबार बिहान १०ः३० बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ४०० मिटर तल खसेको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेकोले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।