राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अहिले गृहमन्त्री बनेका छन् । गृहमा उनको यो ‘सेकेन्ड इनिङ्स’ हो । पत्रकारिता छाडेर पार्टी खोलेको केही महिनाभित्रै चुनावमार्फत शक्ति आर्जन गर्न सफल उनी प्रायः विवादमा तानिइरहने नेतामा पर्छन् । विभिन्न काण्डमा उनी मुछिएका छन् । पछिल्लोपटक भने सहकारी ठगी प्रकरणमा उनी मुछिएका छन् ।
रास्वपा सरकारमा सहभागी हुने चर्चा चलेकै बेला लामिछानेलाई स्वार्थ बाझिने मन्त्रालय दिन नहुने आवाज उठेको थियो । तर, गठबन्धन जोगाउने रविले दाबी गरेकै मन्त्रालय दिन प्रमुख सत्तारुढ दलहरु बाध्य भए । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोचोटि पनि लामिछानेलाई यही मन्त्रालयको चाबी सुम्पिएका छन् ।
लामिछानेको नाम विभिन्न प्रकरणका मुछिएको छ । लामिछाने गृहको नेतृत्वमा पुगेसँग सहकारीका बचतकर्ताहरुले सडक ठप्प पार्न थालेका छन् । बिहीबारमात्र सहकारीका वचतकर्ता काठमाडौंमा उत्रिएका हुन् । गृहको नेतृत्व गरिरहेका रविलाई विरोध गर्नुको कारण हो, सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक जिबी राईसँगको ‘कनेक्सन’ ।
राईले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा लामिछानेले पनि त्यहाँ सेयर पाएका थिए । सोही कारण देखाउँदा पनि लामिछाने यसबारे केही नबोली सरकारमा गएका छन् । सूर्यदर्शनबाट वचतकर्ताको १६ अर्ब रुपैयाँ रकम अपलचन गरेको देखिएको छ । यस सहकारीका अध्यक्ष राई फरार छन् । यो प्रकरणमा माओवादी नेतासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पनि जोडिएका छन् ।
गृहमन्त्री लामिछानेमाथि पनि सहकारी ठगीको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ । जबकि सिआइबीको नेतृत्वमा भने उनी आफैं छन् । यसअघि लामिछाने दोहोरो नागरिकता लिएको आरोप चलिरहँदा गृहमन्त्री बनेका थिए । उनले दोहोरो नागरिकता लिएको पुष्टि भएपछि उनको सांसद पद, मन्त्री पद एकैचोटि गएको थियो । गत वैशाख १२ गतेको उपनिर्वाचनबाट लामिछाने पुनः चितवन–२ बाट निर्वाचित भएका हुन् ।
उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ । सँगै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत छानबिन गरिरहेको छ । पुराना दललाई प्रश्न गर्ने तर आफू भने विभिन्न प्रकरणमा मुछिएपछि पुरानै दलको पारा देखाएर शक्ति केन्द्रमा बस्नु उचित हुन्न । जति नै शक्तिशाली भएर पुगे पनि दोषी प्रमाणित हुँदा जेल पुगेका उदाहरणबारे लामिछानेले बुझ्नुपर्छ ।
गृहमन्त्रीहरुको यस्तै रवैयाका कारण गृह मन्त्रालय कमजोर बन्दै गएको छ । खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजयकुमार गच्छदार, बालकृष्ण खाण गृहमन्त्री भएकै भरमा शक्तिको दुरुपयोग गर्दा जेल बसेका थिए । शक्तिकै आडमा पछि चोखिए पनि गृह मन्त्रालयको भने यसअघि नै बदनाम भइसकेको छ । यस्तो अवस्थामा नयाँ दलबाट आएका नेतृत्वले युवामाझ आशा देखाउन सक्नुपर्छ । भान्सामा बसेपछि ‘आफ्नै हात जगन्नाथ’ हुन्छ भन्ने पारामा शक्ति आर्जनमा नलाग्नु नै बेश ।