काठमाडौं- कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सडक दुर्घटनामा परी काठमाडौं नागर्जुन–२ सानो भर्याङका सुजन कार्की, पञ्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषा वेंगादवार–३ का धिरज गुर्मछान मगरको मृत्यु भएको हो । कुवेतको पापाजोन कम्पनीमा काम गर्ने उनीहरु तीनै जना साथीहरुलाई भेटेर फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएर मृत्यु भएको बताइएको छ ।
घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन् । बिहीबार कुवेतस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक कामदार र उनीहरुका परिवारको विषयमा जानकारी लिएका हुन् । दुर्घटनाको प्रकृति बुझ्न र मृतक कामदारले पाउने बिमालगायतका अन्य क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय कानुन व्यवसायी परिचालन गरिसकिएको दूतावासका श्रम काउन्सेलर गिरिप्रसाद आचार्यले बताए ।