काठमाडौं - आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बेलुकी ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको छ ।
असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बिहीबार नै बुझाइसकेको छ ।
६० केजी सुन र भेपमा त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।