-भोजपुरको हतुवागडीमा तीन बालबालिकाको मृत्यु, मालबाँसेमा छ घर जले
- सप्तरीको राजविराज र मोरङको रंगेलीसँगै रामेछापमा पनि आगलागी, करोडौंको क्षति
काठमाडौं– देशका विभिन्न स्थानमा शनिबार आगलागी हुँदा जनधनको ठूलो क्षति भएको छ । कतिपय स्थानमा अझै आगो नियन्त्रणमा आएको छैन । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाकै भोजपुर नगरपालिका–१२ को टक्सारस्थित मागबाँसेमा आगलागी हुँदा छ वटा घर जलेर खरानी भएका छन् । वनमा लागेको डढेलो वस्तीमा पस्दा क्षति भएको हो ।
आगलागीबाट विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । हावाहुरी चलेपछि वनमा लागेको डढेलो वस्तीमा फैलिएको हो । समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएकै छैन ।
सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार नै आगलागी भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख रुपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले बताए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।
मोरङको रंगेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रंगेलीले जनाएको छ । शनिबार दिउँसो २ः३० बजेतिर सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईंले जानकारी दिए । बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ ।
उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएका रंगेली नगरपालिकी उपप्रमुख गोमा पराजुलीले बताइन् । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताइन् ।कानेपोखरी गाउँपालिका, रंगेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरँैचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको हो । घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताएकी छन् ।
यता रामेछापको रामेछाप नगरपालिका–९ मा भएको अगालागीबाट एक करोड ८६ लाख ३१ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण संकलन गरिएको हो । आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।
तनहुँमा सतर्कता
तनहुँ डढेलोको जोखिममा रहेपछि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सुख्खायाम सुरू भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको पनि छ । सोहीकारण जनधनको क्षति हुनबाट जोगाउन सचेतना अपनाउने गरी कार्यक्रम सञ्चालन गर्नुपरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए । उनका अनुसार आगलागीबाट पर्यावरणमासमेत गम्भीर प्रभाव पर्छ । उनले भने, ‘डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुख धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनास भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिममा रहने हुन्छ ।’
वन डढेलो सबैको साझा चुनौती भएकाले सबैको सहकार्यबाट मात्र यसको नियन्त्रण सम्भव रहेको पण्डितले बताए । उनका अनुसार वन डढेलो हुन नदिन वनमा अग्निरेखा बनाइ रुखका पात भर्ने समयमा सफा गर्ने, वनजंगल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चिज लिएर वनमा नजाने, सुकेका र ढलेका रुख तथा हाँगा सुक्खा मौसमअगावै हटाउने गर्नुपर्दछ ।पण्डितले भने, ‘गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्नाले, वन नजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन्, यसतर्फ सचेत हुनुपर्छ ।’जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन, छ धार्मिक वन छन् ।