धनगढी –सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा थ्री स्टार क्लब प्रवेश गरेको छ । कैलाली हसनपुरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री–स्टारले आयोजक सुदूरपश्चिम–११ सँग फाइनल भेट पक्का गरेको हो ।
धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे । उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरेका थिए । जुन गोल थ्री स्टारको लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए । फाइनल प्रवेश गरेपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले पाएको अवसरमा गोल गर्न सफल भएको बताए ।
‘नकआउट प्रतियोगितामा दबाबको खेल हुन्छ । सेमिफाइनलमा त्यहि भयो । जसरी पनि जित्नु पर्ने थियो,’ उनले भने, ‘शेर्पाले हाम्रो भन्दा राम्रो खेल्यो । अवसर भने बनाउन सकेन । हामीले दुई मात्रै अवसर बनायौं । त्यसमा एक गोल निस्कियो ।’
उनले सेमिफाइनलमा भएको गल्ति फाइनलमा सुधार्ने बताए । यस्तै शेर्पाका व्यवस्थापक शुशील तामाङले गोल ननिस्कदा हार्नु परेको बताए । ‘राम्रो खेल खेल्दा खेल्दै गोल निस्केन । मौका पाएको हो । भाग्य पनि रहेनछ । खेलाडीले सोचेजस्तो खेले,’ उनले भने ।
अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम–११ को सामना गर्नेछ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख १ रूपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ रूपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५÷१५ हजार पाउनेछन् ।