काठमाडौं - सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । आइतबार पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन सीआईबीले बुझेको एआईजी श्यामलाल ज्ञवालीले बताएका हुन् ।
आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।
अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन हुन बाँकी नै रहेको ज्ञवालीले बताए ।विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।