काठमाडौं – वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । न्युजिल्याण्डमा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा समित भट्टराई प्रहरीले पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने २७ वर्षीय भट्टराईले पदमबहादुर बुढालाई न्युजिल्याण्ड पठाई मासिक दुई लाख ५० हजार रुपैयाँ तलबमा एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने विश्वास दिलाएर रकम ठगी गरेको प्रहरीले जनाएको छ । भट्टराईले पीडितसँग पटक–पटक गरी चार लाख रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम संकलन गरी फरार रहेका उनलाई खोजतालासका क्रममा मिनभवनबाट पक्राउ गरिएको बताइएको छ ।
भट्टराईले पीडितबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।