सानो हुँदा कसैले पछि के बन्छौं ? भनेर सोध्दा म यो बन्छु भनेर भन्न कति सजिलो थियो । मेरो पनि छुट्टै सपना थियो, सानो हुँदा त मलाई म के बन्छु भनेर राम्रोसँग सोचेकी पनि थिइनँ । तर मेरो आमाले बारम्बार मलाई विमान परिचारिकाकोबारेमा भनिरहँदा मलाई पनि यस क्षेत्रप्रति संलग्न हुन मन लाग्न थाल्यो । हवाई उद्योगको हिस्सा बन्ने चाहना पलायो । वायुसेवा यात्रुहरुलाई यात्रा समयमा सेवा गर्ने विमान परिचारिकाहरुको त्यो व्यक्तित्वबाट म प्रभावित भएकी थिएँ ।
मेरो मात्र होइन त्यो सपना । पहिलादेखि नै मेरी आमाले मलाई विमान परिचारिका (एयर होस्टेस)बन्ने उहाँको इच्छाबारे भनिराख्नुहुन्थ्यो । विमान परिचारिकाको आकर्षक व्यक्तित्व र इमानदारिता एकदमै मनपराउनुहुन्थ्यो । तर समय अभाव साथै परिवारसँगको गहिरो सम्बन्धले गर्दा परिवारबाट टाढा भएर काम गर्न उहाँले नसकिने जस्तो अनुभूति भयो । त्यसै कारणले उहाँले आफ्नो सपनालाई त्याग गरी पारिवारिक जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुभयो । त्यसैले उहाँको त्यो अधुरो इच्छा पूरा गर्ने सपना म मा देख्नुहुन्थ्यो । यस क्षेत्रप्रतिको उहाँको लगाव पहिल्यैबाट सुन्दै आएकी थिएँ । यी सबै कुराले मलाई पनि एयर होस्टेस बन्न प्रेरित गर्न थाल्यो । मेरो मात्र नभई यो सपना मेरी आमाको पनि हो । त्यसैले मेरो यो सपना पूरा होस् भन्ने चाहनाका साथ उहाँले मलाई जहिल्यै साथ र हौसला दिइरहनु भएको छ ।
मेरो यो सपनालाई वास्तविकतामा परिणत गर्न पहिला त सम्बन्धित क्षेत्रमा डिग्री हासिल गर्न जरुरी छ । त्यसकै लागि मैले तालिम लिएँ । त्यहाँ गएर मैले धैरै कुरा सिक्ने मौका पाएँ । एयर होस्टेसको जिम्मेवारी कति कठिन रहेछ भन्ने थाहा पाएँ । आपत्कालीन समयमा आफूभन्दा पहिले यात्रुलाई कसरी सुरक्षित गर्ने ? के सुझाव दिने ? यात्रुको सुरक्षाका लागि के गर्नुपर्छ जस्ता कुराहरु सिकेँ । योबाहेक पनि ग्रुमिङ, स्विमिङजस्ता धेरै कुरा सिक्न पाएँ । मैले एयर होस्टेस बन्न आवश्यक उडान प्रशिक्षण प्राप्त गरेँ । उडान प्रशिक्षणको आर्थिक बोझदेखि पेसाको माग गरिरहेको अहिलेको प्रकृतिसम्म धेरै अवरोधहरु आइपरिरहेको छ । आवश्यक सम्पूर्ण तालिम लिइसकेपश्चात् यसका लागि मैले मेरो सम्पूर्ण जोससहित प्रयास गर्दै आइरहेकी छु ।
यसकारण अधुरो रह्यो सपना
आवश्यक प्रशिक्षणहरु त प्राप्त गरेँ । तर पनि एउटा कुराको कमी भने महसुस भएको थियो; मेरो उचाइ । आजभोलि सबै क्षेत्रमा प्रतिस्पर्धा र चुनौतीहरु हुन्छन् । विशेषगरी यो पेसामा त झन् बढी नै छ जस्तो लाग्छ । यो पेसामा संलग्न हुन राम्रो र आकर्षक व्यक्तित्व मात्र हैन उचाइ पनि उतिकै हुनु आवश्यक छ । आन्तरिक उडानका लागि पाँच फिट दुई इञ्च उचाइ चाहिन्छ । मेरो भने पहिला पाँच फिट एक इञ्च मात्र थियो । आकर्षक व्यक्तित्वमात्र भएर के गर्ने, उचाइ नपुगेपछि । पहिले उचाइ कम भएकोमा वास्ता नै नलाग्ने मलाई आज यही कुराले अशान्त बनाइरहेको महसुस हुन्छ ।
मेरो प्रयास जारी नै थियो । तालिम सकेपछिको पहिलो प्रयास असफल नै रह्यो । त्यसपश्चात् उचाइ बढ्छ कि भन्ने आशाले मैले दैनिक योगा, व्यायाम गर्न थालेँ । एक डेढ वर्षपश्चात् त साँच्चै नै आधा इञ्चजति उचाइ बढ्यो । पाँच फिट २ इञ्च अझै पुगेको छैन; मनमा लाग्दा पनि मैले दोस्रोपटक फेरि आवेदन दिएँ त्यसमा म सफल त भएकी थिइनँ तर पनि त्यति प्रयास गरेकोमा म एकदमै सन्तुष्ट र खुसी भएकी थिएँ । मेरो कोसिस अझै पनि छ; त्यो आधा इञ्चको लागि म अहिले पनि दैनिक व्यायाम र योग गरिरहेकी छु । म मेरो यो सपना प्राप्त गर्न अझै पनि प्रयास गरिराख्ने छु ।
यो सपना सँगसँगै म पत्रकारिता अध्ययनरत छु । म अहिले पत्रकारीता विषय लिई चौथो वर्षमा अध्ययनरत विद्यार्थी हँु । मेरो एयर होस्टेस बन्ने सपना त छँदै छ तर समाचार लेख्ने, कार्यक्रम चलाउने यो इच्छाले पनि मैले विभिन्न रेडियो कार्यक्रमहरु चलाउने, समाचारहरु लेख्ने गरिसकेकी छु । जिन्दगीको जुन मोडमा पुगे पनि मेरो एयर होस्टेस बन्ने सपनासँगै मेरो पढाइको विषय पत्रकारितालाई पनि निरन्तरता दिई अगाडि बढ्दै जान चाहन्छु ।