काठमाडौं महानगरपालिकाले विभिन्न स्थानको प्राचीन नाम पुनरुत्थान कार्य सुरु गरेको छ । नामकरणको क्रममा वास्तविक नामलाई मेटेर नयाँ नाम राखिएकोमा पुरातत्वविद्, इतिहासविद्हरुसँग छलफल गरी महानगरले रैथाने नाम राख्ने प्रक्रिया सुरु गरेको हो । यस्तो काम महानगरले पाँचवटा वडाबाट सुरु गरेको छ । धार्मिक, सांस्कृतिक महत्व बोकेको स्थानको रैथाने नाम हुने गर्छ । तर लेखनका विभिन्न स्थानको नामको नक्कल गर्ने क्रममा इतिहास छोप्ने कामसमेत हुने गरेको देखिएको छ । यही विषयलाई मध्यनजर गर्दै महानगरले पुष्टि भएका ठाउँको नाम प्राचीन बोलीचालीअनुसार राख्न थालिएको हो ।
हाँडीगाउँको प्राचीन नाम नरः हो । बौद्धको प्राचीन नाम खस्योरः वा खास्ती हो । नरदेवीको प्राचीन नाम ङतः हो । वडा नम्बर २४ मखन महानगरले नरः मा ५२ वटा, खस्योरमा ५० वटा, ङतःमा ३६ वटा अभिलेखन गरिसकिएको छ । यी नामहरू अब प्रचलनमा ल्याइने महानगरपालिकाले जनाएको छ । आफ्नो मातहतमा रहेका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ ।
उक्त कार्यको सुरुआत पांचवटा वडाबाट भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिए । उनका अनुसार विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनका क्रममा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय, जनप्रतिनिधिसँग समेत सोधिएको महानगरले जनाएको छ ।
विभिन्न कारणले अर्कै स्वरूपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषामा नामपाटी राखिने छ । अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठका अनुसार नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङको पृष्ठभूमिमा ‘नामपाटी’ (नेमप्लेट) राखिने छ । ढुंगेधारा, सत्तलका नाम यही रङ संकेतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ ।
महानगरले अब नगरको नाम पनि परिवर्तन गर्ने आँट गर्नुपर्छ । काठमाडौंको पुरानो नाम ‘यम्बु’ वा ‘याः’ हो । काष्ठमाण्डप मन्दिर बनेपछि यहाँको नाम पछि काठमाडौं बनेको हो । प्रचीन नामको खोजी सांस्कृतिक महत्वको विषय हो । यसलाई प्राथमिकतामा राख्नु काठमाडौं महानगरको उदाहरणीय कार्य हो ।