काठमाडौं– पञ्चायतको अन्तिम दशकतिर कृष्णबहादुर महरा गणित र विज्ञानका शिक्षक थिए । विद्यार्थीहरूबाट ‘एम सर’ भनेर बोलाइन्थे । उनी सम्मानित थिए ।तत्कालीन नेकपा मसालबाट प्रजातन्त्र पुनर्वहालीपछि रोल्पा ३ बाट निर्वाचित भएर संसद् पुगेका उनी अन्ततः माओवादी सशस्त्र विद्रोहमा सहभागी भएर शान्ति प्रक्रियामा आएसँगै सञ्चार, उपप्रधान तथा परराष्ट्र, गृह र अर्थमन्त्री हुँदै सभामुखसमेत भए ।
हाल माओवादी उपाध्यक्ष रहेका उनी एकपछि अर्को प्रकरणमा मुछिएका छन् । जसले गर्दा पहिलेजस्तो सम्मानित छैनन् । यसअघि एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ पर्दा सभामुख पद गुमाएका उनी पुनः सुन तस्करीमा संलग्न रहेको आरोपमा समातिएका छन् ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको नौ किलो तस्करीको सुनकाण्डमा मुछिएका कारण पक्राउ ग¥यो । कपिलवस्तुमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । र, उनी बिरामी भएको भन्दै हिरासत अवधिभर अस्पतालमा बस्न अनुमति दिएको छ । अदालतको आदेशअनुसार उनी सोमबार नै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तत्काल महरालाई कारबाही गर्न प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र सिआइबी प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका थिए । दुई दिन नबित्दै महरा पक्राउ परेका हुन् । सुन तस्करी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको संलग्नता रहेको किटान गरेको छ । सोही आधारमा महरा पक्राउ परेका हुन् ।
सिआइबीले महराको बयान कागज पहिल्यै गरेको थियो । अनुसन्धान प्रतिवेदनमा भने महरालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिइएन । जबकि चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको भेप छुटाउन तत्कालीन भन्सार प्रमुखलाई फोन गरेको स्वीकारेका थिए । अनुसन्धानकै क्रममा उनको सीधा सम्बन्ध चिनियाँ सुन तस्कर दाओजिन वाङसँग खुलेको थियो । तर, त्यसबेला उनी सिआइबीबाटै जोगाइए । उनको पक्राउपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा महराको पक्राउबारे नै छलफल हुने छ ।
उनका छोरा राहुल यसअघि नै पुर्पक्षका लागि थुनामा छन् । उनी थुनामा पुगेको नौ किलो सुनकाण्डले नै हो । चिनियाँ तस्कर वाङसँग उनको १९५ पटक टेलिफोन कुराकानी भएको खुलेको थियो । बुबा कृष्णबहादुरले पनि वाङसँग २२ पटक टेलिफोन कुराकानी गरेको विवरण यसअघि नै सार्वजनिक भएको थियो । यसबारेको समाचार तथ्यहीन भन्दै खण्डन गर्दै आएका थिए । जाँचबुझ आयोगले बयान लिँदा पनि आफूले भन्सार अधिकारीलाई रोकिएको सामान (भेप) कानुनअनुसार छाड्न मिल्छ भने छाड्नु भनेको बयान दिएका थिए ।
उनी आपराधिक घटनाका कसुरदार बनेर पक्राउ परेको भने यो पहिलोपटक होइन । २०७६ को असोज दोस्रो साता उनी सभामुख छँदै संसद् सचिवालयकी एकजना कर्मचारीलाई बलात्कार प्रयास गरेकोजस्ता गम्भीर अपराधमा मुछिए । सोही आरोपमा उनले सभामुख पदसमेत गुमाउनुप¥यो ।सुरुमा उनले तथ्यहीन भन्दै खण्डन गरे । तर, प्रहरीले महरा ती महिलाको कोठामा गएको सिसिटिभी फुटेजको आधारमा निक्र्योल गरेपछि पक्राउ ग¥यो । यसपछि सभामुख पदबाट उनले राजीनामा दिए । त्यसबेला १३३ दिन थुनामा बसे । पछि अदालतबाट उनले सफाइ पाए । यसले महरालाई राहत पुगेको थियो । तर, यतिबेला पुनः सुन तस्करका संरक्षक बनेको अभियोगमा महरा पक्राउ परेका छन् ।
पहिलो संविधानसभा विघटन संघारमा पुग्नुभन्दा अघि संसद्बाट सरकार गठन गर्ने प्रयास जारी रहेकै बेला एक जना चिनियाँ भनिएका नागरिकसँग ५० करोड रुपैयाँ मागेको टेलिफोन वार्ता पनि महराकै थियो । त्यसबेला पनि उनी विवादमा तानिए । तर, त्यो विवाद त्यसै सेलायो । कहीँ कतै उठेन । उनी लडाकु शिविर घोटाला काण्डमा पनि मुछिएका नेता हुन् । उनीविरुद्ध २०६९ मा भएको हेटौँडा महाधिवेशनमा नाराबाजीसमेत भएको थियो । यसरी महरा सर राजनीतिक जीवनमा लाभको पदमा पुग्दा अनेकन विवादित गतिविधिमा जोडिए ।
करिब पाँच दशकदेखि कम्युनिस्ट राजनीतिमा लागेका उनलाई तुलनात्मक रुपमा छिटो उचाइ लिएका नेता मानिन्छन् । २०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी भएका उनी त्यही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित मात्रै ३२ वर्षका थिए । त्यसको दुई वर्षपछि नै २०५० सालमा उनी संयुक्त जनमोर्चाको संसदीय दलको नेता बने । पछि जनमोर्चा फुट्यो । जतिबेला केन्द्रीय सदस्यसमेत थिएनन् । जबकि त्यसबेला हरिबोल गजुरेल, हरिभक्त कँडेल, पम्फा भुषाल, देव गुरुङ, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, लोकेन्द्र विष्ट, मातृका यादवलगायतका नेता केन्द्रीय समितिमा थिए ।
महरा माओवादी सशस्त्र विद्रोह सुरु भएको एक वर्षपछि मात्रै केन्द्रीय सदस्य भए । राजनीतिक उचाइ भने छिटो लिए । आफूभन्दा अग्रज नेताहरू अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी सम्मिलित वार्ता टोलीको संयोजक भएर युद्धकै क्रममा सरकारी वार्ता टोलीसँग शान्तिवार्ता गरे । पार्टीको प्रवक्ता भए । माओवादीभित्र संसदीय मर्यादा र अभ्यासमा पारंगत नेता मानिन्थे । त्यही भएर १२ बुँदे समझदारीको जगमा हतियार बिसाएर माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम व्यवस्थापिका संसद्मा उनले माओवादी संसदीय दलको नेताका रुपमा जिम्मेवारी पाएका थिए । सरकारका प्रवक्ता पटक–पटक भए । महŒवपूर्ण मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भए ।
पार्टीको हेटौँडा महाधिवेशनमा अध्यक्ष दाहालको उत्तराधिकारीको रुपमा महरालाई अघि बढाउने आवाज उठेको थियो । तर, त्यसबेला पोष्टबहादुर बोगटी महासचिव भए । उनी दिवंगत भइसकेका छन् । यसबेला भने उनै उत्तराधिकारीको रुपमा हेरिएको भनिएका महरा काण्डैकाण्डमा मुछिएका छन् ।
धरौटीमा छुटे गुरुङ
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनी सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर सोमबार रिहा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले बताए । प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सिआइबीले १४ फागुनमा पक्राउ गरेको थियो ।