चैत १ गते रामेछापको रामेछाप नगरपालिका–९ स्थित स्थानीयको घरमा आगलागी हुँदा एक करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भयो । चैत ३ मा सप्तरीको राजविराजमा रहेको कृष्ण लेडिज टेलर्समा आगो लाग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भयो । चैत ३ मा भोजपुरको टक्सारमा आगो लाग्दा छ घर जलेर नष्ट भए । भोजपुरकै हतुवागडीमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो । सोही दिन मोरङको रंगेली बाबुसाहेब टोलमा आगो लाग्दा १९ घर जले ।
मोरङकै शनिश्चरेमा शुक्रबार राति आगो लाग्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्ट छ । शनिबार उदयपुरको रौतामाइ भोर्लेनीको सामुदायिक वनमा आगो लाग्दा तीन घरसमेत सखाप बनायो । सुनसरीको बर्जुमा शनिबार आगो लाग्दा १५ घर जलेर नष्ट भए ।
केही दिनयता यसरी नै आगलागी भएका घटनाको ‘हेडलाइन’ बन्न थालेको छ, समाचारहरुमा । गर्मी याम सुरु हुनुपूर्व हावाहुरी चल्दा देशका विभन्न जिल्लामा आगलागीका घटना बढ्दो छ । यस्तो घटना हरेक वर्ष हुने गर्छ । सरकारले सहरी क्षेत्रका लागि दमकलको व्यवस्था गरेको भए पनि ग्रामीण क्षेत्रमा यस्तो व्यवस्था छैन । सडक, विद्युत्, यातायातमा लगानी गरेको सरकारले यसरी आगलागी हुँदा सावधानी अपनाउन भन्दै आग्रह गर्नेमात्र हो । अरू गर्नसक्ने हैन ।
आगलागी डरलाग्दो घटना हो । यो नियन्त्रणका लागि सबैभन्दा पहिलो हो, पूर्वतयारी । आगलागीका घटना जुनसुकै बेला जहाँ पनि हुन सक्छ । आगो नियन्त्रणको सबैभन्दा उत्तम उपाय पानी नै हो । तर नेपालका ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा पानीको अभाव छ । जलस्रोतको धनी देश भनेर गफ जोतेको सरकारले खुल्ला क्षेत्रमा पानीको जोहो हुनेगरी पोखरी र ड्यामहरु बनाउन सकेको छैन ।
यतिमात्र हैन पानीको स्रोतकै संरक्षणमा सरकारको चासो देखिन्न । स्थानीयस्तरमा उपलब्ध ढुंगेधारा, इनार, पोखरी, कुवा, जरुवा, कुलो, ताल आदिको समय–समयमा सरसफाइ र मर्मतसम्भार गरेर जोगाउन सके आगो लाग्दा यहाँका पानी अचुक औषधि हुन सक्छन् ।
यसैगरी आगो लाग्दा कसरी बच्ने, के गर्ने भन्ने विषयमा तालिमसमेत हुँदैन । विकसित देशमा महिनाको एक पटक आगो लाग्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाबारे तालिम दिइन्छ । नेपालमा माटो सुहाउँदो पूर्वाधार भनेको पानीको स्रोतको संरक्षण हो । वडावडामा हेलिप्याड बनाउनुभन्दा पोखरी बनाउनुतिर सरकारले ध्यान दिए आगामी दिनमा आगलागीबाट क्षति कम हुने थियो ।