पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।
दशरथ नेपाली
घाइते यात्रु
ढोरपाटन- ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बज्नै लाग्दा निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा प¥यो,’ धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए ।
उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले म सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ,’ उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।’
गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिएँ । तर ढोका खोल्न नपाउँदै बस खस्यो । म होसमा आउँदा शरीर रुखले च्यापेको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला ।
हेमराज केसी
घाइते यात्रु
घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेहरूसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइतेहरू पीडाले कराइरहेका छन् भने केही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरूको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए । ‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो,’ उनले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले बताए । ‘केही बेरपछि होस आउँदा वरिपरि यात्रुका शव र घाइतेमात्रै थिए । एकैछिन मेरो हातै चलेन । जसोतसो उठेर रुख र ढुंगाले च्यापिएका घाइतेलाई निकालें ।’
दुर्घटनाका घाइते भन्छन्– चालकको लापरबाहीले दुर्घटना भयो
- डम्मर बुढा मगर
उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि सोमबार राति नै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लोपट्टि बसेका धेरैको मृत्यु भएको छ । दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउँछन् ।
‘म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिएँ । तर ढोका खोल्न नपाउँदै बस खस्यो,’ उनले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । ‘म होसमा आउँदा शरीर रुखले च्यापेको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला,’ उनले भने । उनका अनुसार होसमा आउँदा केही कान्लामा अड्किएका थिए त केही घाइतेहरू चिच्याइरहेका थिए ।
दुर्घटनामा परी घाइते भएकाहरूले धौलागिरि अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालकी सूचना अधिकारी शान्ति भण्डारीले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको मंगलबार बताइन् । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरूको अवस्था भने गम्भीर रहेको भण्डारीले बताइन् ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारीधनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीय टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
बस सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका छन् । बसमा ३७ जना यात्रु सवार थिए ।
रासस