कर्णाली प्रदेशको हिमाली र उच्च पहाडी ठाडा डाँडा, भिराला पाखाले बनेको भूगोल हामीले सोचेझैँ सहज र उर्वर थिएन, छैन । त्यस्तो ठाउँमा अभ्यस्त मानवजीवन पद्धति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुनेगरी पाउन सकिएको छैन भने निराशा हुनुपर्ने स्थिति पनि रहन्न । प्राचीन रेशमको व्यापार उर्लेको बेलामा हिन्दूकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरुले उत्तर–पश्चिम भारत र दक्षिण–पश्चिम तिब्बतलाई आफ्नो राज्य क्षेत्रभित्र पार्नसक्ने यो खस जातिको सभ्यताले तत्कालीन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ ।
कर्णाली प्रदेशमा प्रचलित विभिन्न संस्कृति छन् । ती संस्कृतिलाई मूलतः दुई भागमा विभाजन गर्न सकिन्छः वैदिक र लौकिक संस्कृति ।
१) वैदिक संस्कृति
वैदिक शास्त्रीय विधिमुताविक गरिने संस्कारहरु, जसमा कर्मकाण्ड, वैदिक देवीदेवताहरुको पूजा, अर्चना, गर्भाधानदेखि मृत्युपर्यन्तसम्म गरिने तर्पण, पिण्डदान, श्राद्ध, तीर्थाटनमा पुगिएका ठाउँका देवीदेवताको पूजा विधि आदि । वैदिक संस्कृतिमा प्रशिद्ध देवी, देवताहरुको सार्वलौकिक लिखित तथा व्यापक शास्त्रीय वैदिक मन्त्रद्वारा आह्वान, सम्बोधन गरेर, अग्निहोत्र विधिले पण्डित, पुरोहित आदिलाई बोलाएर पूजा अर्चना गरिन्छ । उदाहरणको निम्तिः बाबु, आमा, सूर्य, चन्द्रमा, वरुण, इन्द्र, कुवेर, नवग्रह, ब्रह्मा, विष्णु, महेश्वर, वायु, आदि ।
२) लौकिक संस्कृति
लौकिक संस्कृति, जसमा परम्परादेखि लोकमा प्रचलित भइआएका धेरैजसो अलिखित र मौखिक सांस्कृतिक परम्परालाई भन्न सकिन्छ । विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख सुर्खेत, जाजरकोट, रोल्पा, दाङ, सल्यान, बैतडी, दार्चुला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरजस्ता जिल्लामा लौकिक संस्कृतिका मौलिक तथा प्राकृतरुपमा सुरक्षित रही आएका पाइन्छन् । कर्णाली प्रदेशबाट जति पूर्वतिर बढ्दै गयो उति नै नेपाली संस्कृतिको विस्मृति तथा क्षय हुँदै गएर भिन्न प्रकारको संक्षेपीकृत रुप बन्दै गएको महसुस अनुसन्धाताहरुलाई हुने गर्दछ ।
लौकिक संस्कृतिमा शुद्ध आत्मा, स्थानीय देवी, देवता, दुष्ट आत्मा भूत, प्रेत, पिशाच, श्मशाने, भ्याउनी, बीर, मरेडायनी, देवीदेवताका वाहनहरु, निशाचरहरु, अगति परेर मरेका पितृहरु, गलत किसिमबाट मारिएकाहरुको भौतारिएको आत्मा, अकालमै मरेकाहरु, लौकिक देवताहरु, भूमे, भँयर, अँयर, देउराली, वनदेवी, निधिनी, झाँक्री, वनझाँक्री, ओडार र पहरामा बस्ने दैत वा देवताहरु आदिको लौकिक विधानबाट धामी, बिजुवा, गुराउ, मान्थेबा, तान्त्रिक, झाँक्री, झारफुक गर्ने, यान्त्रिक, अभिचार विधिबाट, फुकफाकका माध्यमबाट उग्र भएका त्यस्ता लौकिक देवीदेवताहरुलाई शान्त पारेर दुःख नदिउन् भनी पूजा गर्ने र मन्साउने परम्परालाई मान्यता गरिन्छ ।
कर्णाली प्रदेशमा पुजिने वैदिक देवीदेवताहरु सात्विक र राजशी प्रकृतिका हुन्छन् भने लौकिक देवी देवताहरु राजशी र तामशी प्रकृतिका हुन्छन् । उदाहरणका निम्तिः परब्रह्मा, ब्रह्मा, विष्णु, महेश्वर, गणेश, सूर्य, देवी, राम, कृष्ण, कुमार, दूधेमष्टा आदिलाई सात्िवक विधिबाट पूजा गरिन्छ भने इन्द्र, भैरव, मष्टा, काली, दाह्रेमष्टा, काली भँयर, अँयर, भूमे, झाँक्री, नन्दी, भृंगी, चतुषष्टी योगिनी, भूत, प्रेत, वायु, दोष, पिशाच, भ्याउने, श्मशान, भान, बाहन, फाके, लागो, भागो, आदिलाई राजशी र तामसी विधिबाट पूजा, धूप, उपचार, खोज, पूकार, सुपुकार, भाकल, आदि विधिबाट सम्मान गर्ने परम्परा रही आएको छ । (देवकोटा, २०४६, पृष्ठ, १०७) ।
त्यसरी राजशी र तामसी विधिबाट पूजा, धूप, बलि, मन्साउने, बुझाउने, थान्को लगाउने प्रक्रियाबाट चोरी, हत्या, पीडा, बलात्कार, लाञ्छना, रोग, व्याधी, आतंककारी, लुटिने, पिटिने, छकाइने, ठगिने, मुद्दा मामिलामा फस्ने आदिबाट बच्नका निम्ति ती देवीदेवतालाई भाकल गरेर शान्त पार्ने परम्परा अद्यापि प्रचलनमा रही आएकै छ ।
त्यस्ता धेरै देवताहरुमध्ये सबैभन्दा शक्ति र सामथ्र्य भएका, तत्कालै फल दिनसक्ने देवता श्रीमष्टा देवता नै मानिन्छन् । नेपालभर बसोबास गर्ने खस आर्यका कुलदेवता मष्टा र देवीहरुको उत्पत्ति क्षेत्र कर्णाली प्रदेश नै मानिन्छ । त्यस्ता ज्यादै प्रख्यात देवता मष्टा र देवी भवानीका विभिन्न रुप र नामका हुन्छन्, जसमा बाह्रभाइ मष्टा र नौ दुर्गा भवानी भनी पुकार गरिन्छ । श्री नौ दुर्गा भवानीका पनि सयजति नाम छन् भने श्रीमष्टाका चौरासीवटा नाम प्रचलित रहेका पाइन्छन् ।
कर्णाली प्रदेशमा राग्श्या, भूत, भाउन्ना, मशान्या, दोभान, मुखोल्या, वायु, कप्टिनी, बोग्सी, डांकिनी, सांखिनी, दानुवा, प्रेत, पुंग्याल, भँयर, भान, छाया, द्यौ, द्यौती आदिले मानिसलाई रोग व्याधी, मुर्छा, धनहानि, कृषि हानि, सन्तान हानि, निसन्तान, भीमल, तर्सो, मन चञ्चल गराउने गर्छन् भनिन्छ । त्यस्ता भूतादिबाट कष्टमुक्त हुन धामी, झाँक्री, नाडिछाम्ने, चामल जोखाना हेर्ने, फुकफाक गराउने, अक्षता उडाउने, बलि दिने, रंगविरंगले पूजा गर्ने कुखुरा, परेवा, चल्ला छोड्ने, सामान र बत्तिसहित बिरामीको शरीरलाई सातपटक घुमाएर सात तयाली वाचा गराएर दोबाटोमा लगेर फ्याँकिन्छ, छोडिन्छ ।
त्यस कार्यलाई खोज गरेको भन्ने भनाइ छ, खोज गर्दा खरानी (रखानी) को डल्लोलाई पिण्डको रुपमा मानेर खोजकर्ता धामीले चामलका पीठाको मानिसको मूर्ति निर्माण गर्छन् । त्यसपछि सातवटा दाबिलामा अँगारले भूतभाषामा लेखेर मन्साउने नेटामा पुगेपछि फलामको दिउरा, भजालामा लगेको आगो भुइँमा खन्याएर सोही आगोमा कडुवा तेलको धूप हालेर मन्साउने सरजामको वरिपरि अम्खोरामा लगेको जलले वरपर घुमाएर बिरामीको नाम फलाकेर सात तयाली वाचा गराएर अब उप्रान्त सो व्यक्ति र निजका कुनै पनि परिवारलाई दुःख नदिने वाचा गराइन्छ ।
त्यति गरेपछि मात्र सो चामलका पीठाको मूर्ति र सारा सरजामलाई भुइँमा खाल्टो खनेर पुरिन्छ र सातवटा दाबिला उही खोज गर्दा गाडेको खाल्डो वरपर ठड्याएर गाडिन्छ र बिरामी भएका घरतिर फर्किन्छन् । घर फर्केपछि अम्खोरामा लगेको बाँकी जलले बिरामीलाई दोहोलो काडिन्छ र अब उप्रान्त निको भयो भनी सातो जाने किसिमले कराउने र लागो भागो छुटाउने गरिन्छ ।
कर्णाली प्रदेशमा फाग, माँगल, भारत, झोडा, चैत, चाँचडी, ढुस्को, भोस्सो, भाइल, भैली र गाथाको विशाल भण्डार नै मानिन्छ । त्यस्ता केही उदाहरणका रुपमा सरुवा कौनियाको भारत, बिना कठाइतको भारत, उदा छोपालाको भारत, शक्ति कठाइतको भारत, रनि राउतको भारत, लछालकीर्तिको भारत, बालराजा काँशीरामको भारत, बिमा राउतको भारत, राजा जितारी मल्ल जालन्धरी मल्लको भारत, संग्रामसिं कार्कीको भारत, रारा पैकेलाको झोडा, कालु बमको झोडा, नागर विष्ट, भैरव विष्टको झोडा, सती कलशाको गाथा, बाँके रावल चना रौतेलीको गाथा जस्ता ज्यादै प्रचलित अमूर्त सम्पदा मानिन्छन् । (तिमिल्सेना, २०७७, पृष्ठ, २७४०–२७५)
दैलेखका अमूर्त सम्पदाका बारेमा एउटा पुरानो उखानयुक्त भनाइ सुन्न पाइन्छः जस्तैः सातालाको भैलो, डौंशुरको हुड्केली, सिगौठीको भोस्सो, खुडखुडीको मारुनी, नौमूले, टाकुरी, काँशीकाँधको सरौँघाउ ( हातहतियार हातमा लिएर गरिने युद्धको नमूना, अभिनय) आदि प्राचीनकालबाट प्रख्यात मानिन्छन् ।
निष्कर्षः
कर्णाली प्रदेशको हिमाली र उच्च पहाडी ठाडा डाँडा, भिराला पाखाले बनेको भूगोल हामीले सोचेझैँ सहज र उर्वर थिएन, छैन । त्यस्तो ठाउँमा अभ्यस्त मानवजीवन पद्धति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुनेगरी पाउन सकिएको छैन भने निराशा हुनुपर्ने स्थिति पनि रहन्न । प्राचीन रेशमको व्यापार उर्लेको बेलामा हिन्दूकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरुले उत्तर–पश्चिम भारत र दक्षिण–पश्चिम तिब्बतलाई आफ्नो राज्य क्षेत्रभित्र पार्नसक्ने यो खस जातिको सभ्यताले तत्कालीन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ ।
अझ गम्भीरतापूर्वक अध्ययन गर्दा खस जातिले गरेका वैज्ञानिक आविष्कारहरु, उनीहरुको सभ्यताको प्रभाव, उनीहरुको संस्कृति, सामजिक वनोट, भाषाको विकास, परिधान, राज्यको मजबुती, आर्थिक स्रोतको उचित परिचालन, स्वर्णभूमिसँगको व्यापार र वाणिज्य, जातिपाति र स्थलसँग सम्बन्धित थरको पहिचान, पेसाप्रतिको निष्ठा, कामको मर्यादा, कला कौशल र साम्राज्यको अध्ययनबाट यस जातिको समृद्धिको चुलीलाई उच्च मूल्यांकन गर्न सकिने आधारहरु पाइएका छन् । केवल कर्णाली प्रदेशमात्र नभएर, काश्मीर, गढवाल, कुमाउँ, नेपाल, भुटान, सिक्किम, भारतको हिमाञ्चल प्रदेश, असाम, आदिको सभ्यतालाई सिञ्जाको पूर्वमध्यकालीन खस मल्ल सभ्यताले निर्देशित गरेको महसुस हुन जान्छ । जसको प्रभाव हालसम्म पनि कर्णाली प्रदेशमा सुरक्षित नै रहेको छ ।
सामाजिक वनोटका दृष्टिबाट विचार गर्दा अनादिकालमा कर्णाली प्रदेशमा हिमाली, जंगली, फिरन्ते, सिकारी, कुशुण्डा, राउट्या, मुण्डा, जस्ता जातिहरुको क्रिडाभूमि रहेको प्रतीत हुन्छ । पछिल्लो समयमा आएर हिन्दूकुश हिमाल वारपारमा खसआर्यहरुको बसोबास रहेको र त्यही परिप्रेक्षमा कत्युरी, पाल, चन्द, चौहान, मल्ल, मागधी, गान्धार जस्ता जातिको बसोबास पनि भएको हुनाले उनीहरुले हिन्दू सनातन र बौद्ध धर्मलाई समान व्यवहार गरेर बसेको बुझिन्छ ।
ती सबैमा मंगोल र आर्य नश्लको सम्मिश्रण रहेको, सामाजिक परम्परा र संस्कृति पनि सम्मिश्रण किसिमको पाइन्छ । उनीहरुले आफ्नो मौलिक संस्कृतिलाई यथावत्रुपमा बचाएर संरक्षण गरेर राख्न सफल भएका थिए । तीमध्ये कर्णाली प्रदेशमा खस जातिले बहादुरी प्रवृत्तिको विकास गर्न समर्थ, मठ मन्दिरमा पशुको बलि दिने, प्रसादको रुपमा मांसादिको भोजन गर्ने अभ्यास पहाडी परम्परामा स्वीकार्य मानिएबाट त्यही रीति विकसित हुँदै सामाजिक संस्कार बन्यो ।
खस जातिले हिन्दू र महायानी बौद्ध संस्कारलाई उदारतापूर्वक पूर्णतः अंगीकार गरेको देखिन्छ । खस जातिमा सबैले आ–आफ्नो काम इमान्दारीसाथ गर्दै आएका देखिन्छन् । केहीले छोरी बेच्ने र केहीले मन्दिरमा लगेर चढाउने चलन पहिले थियो, युद्धमा सेनाद्वारा बलात्कृत गरिएकी कन्यालाई देवकी बनाउने चलन पनि थियो । खसआर्यहरुले उत्तर–दक्षिणको व्यापारमा जीवन्त बनाएका हुन्थे र राज्यको अर्थतन्त्र थामेका हुन्थे ।
कर्णाली प्रदेशको मूल आय स्रोत नै वैदेशिक व्यापार थियो, जसमा खसआर्यहरु नै सक्रिय देखिन्थे । समाजमा नारीको स्थान उच्च थियो र शुद्रको सामाजिक महत्व सबै जातिको भन्दा अधिक उच्च थियो, किनभने सबै जातिको जन्मदेखि मृत्युपरन्तसम्म उनीहरुको भूमिका निरन्तर चलेको हुन्थ्यो र उनीहरुको पेसा नै जनसेवा मानिन्थ्यो । बीचको समयमा यस जातिलर निकै गोता पायो । तर पनि हाल आएर त्यस जातिको उत्थानका विभिन्न प्रयासहरु नेपालमा भई आएका छन् ।
(इतिहासकार तथा प्राध्यापक डा. सुवेदीले ‘कुडा कर्णालीका’ मा व्यक्त विद्वत प्रवचनको दोस्रो भाग । प्रवचनको पहिलो भाग चैत १ गतेको अंकमा प्रकाशित छ र बाँकी (तेस्रो) अंश अर्को अंकमा प्रकाशन गरिने छ ।– सं)