काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । मन्त्री अर्याललाई बधाई दिन बुधबार मन्त्रालय पुगेको महासंघको प्रतिनिधिमण्डलले उक्त माग राखेको हो ।
संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री नियुक्त भएको १० दिनपछि अर्याललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । त्यस क्रममा अध्यक्ष भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या अवगत गराउँदै तत्काल सम्बोधन गरिनुपर्नेमा जोड दिए । उनले स्वच्छ, पारदर्शी र मर्यादित वैदेशिक रोजगारीका लागि व्यवसायीहरु सरकारसँग सधैं हातेमालो गरेर अघि बढ्न प्रतिबद्धता रहेको बताए ।
‘हामी मन्त्रीज्यूलाई बधाई दिन गएका हौं,’ संघका महासचिव मेघनाथ भुर्तेलले भने, ‘व्यवसायीका आफ्ना केही कुरा राख्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्यौं ।’ यस क्षेत्रमा देखिएको समस्या हल गर्न मन्त्री अर्याल सकारात्मक देखिएको उनको भनाइ छ ।
पेसा, व्यवसाय निजी क्षेत्रले गर्ने र त्यसको सुपरीवेक्षण तथा अनुगमन गर्ने दायित्व सरकारको भएकाले संघसँग सहकार्य गरेरमात्रै मन्त्रालय अगाडि बढ्ने मन्त्री अर्यालले प्रतिक्रिया दिएको भुर्तेलले बताए । उनका अनुसार मन्त्रालयले गर्ने नीतिगत निर्णयहरुमा सरोकारवालासँग समन्वय गर्ने आश्वासनसमेत मन्त्री अर्यालले दिएका छन् ।