लोकतन्त्रमा नेताको विकल्प देखिँदैन । लोकतन्त्रमा मुलुकको सञ्चालन गर्ने काम राजनीतिक दलहरूले नै गर्ने हो । आवधिक निर्वाचन हुने र सो निर्वाचनमा जो जस्ले बहुमत प्राप्त गर्छ वा जुन दललाई जनताले बहुमत दिन्छन्, त्यहि पार्टीले सरकार गठन गर्ने र मुलुकको कार्यकारी अधिकार पाउँछ र मुलुक सञ्चालन गर्छ । यो भनेको लोकतन्त्रको सबैभन्दा उत्तम प्रक्रिया भएकाले नै आज विश्वभर लोकतन्त्रलाई स्वीकार गरिन्छ । यसबाट के देखिन्छ भने राजनीतिक दल र यसलाई सञ्चालन गर्ने नेताहरू कञ्चन हुनुपर्छ । किनभने उनीहरू जब मुलुक सञ्चालनको तहमा पुग्छन् तव उनले पार्टीलाई बिर्सेर समग्र मुलुकको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । तर, जब नेताहरू सत्तामा पुग्छन्, तब जनताको मुद्दाबाट टाढा हँदै गर्दा जनता विक्षिप्त भएका छन् । यहि विक्षिप्ताको उग्ररूप नै नेताहरूमाथि आक्रमण हो ।
सत्तारुढ दलका अध्यक्षमाथि आज जुत्ता प्रहार भएको छ । यसलाई कुनै पनि कोणबाट सुखद मान्न सकिँदैन । यसलाई जतिसुकै विरोध गरे पनि त्यो विरोध कमी नै हुन आउँछ । तर, नेताहरूमाथि भएको आक्रमणभन्दा केही पछाडि फर्केर हेर्ने हो भने प्रहार हुने वातावरण चाहिँ नेताहरूबाट नै भइरहेको छ । नेताहरूले जे बोल्छन्, त्यसलाई पूरा गरेको देखिँदैन । नेताहरू आफू सत्तामा पुगेपछि जनताको दुःखका सबै कारकको अन्त्य गर्ने गरी भाषण छाँटिरहेका छन् । हिजो गरिब किसानले राज्य सञ्चालन तहमा पुगेर जनताको वास्तविक समस्याको समाधान हुने भन्दै आए पनि आज नेताहरूले यस्तो प्रणालीको निर्माण गर्न सकेनन् । जनतालाई छाक काटेर कर तिर्न बाध्य बनाउने सरकार आफू भने करोडौँ कमिसन लिने प्रपञ्च गर्दै जाँदा तिनै नेताको बचाउमा शीर्ष नेता लागेपछि जनताले पोखेको आक्रोशको प्रारम्भिक स्वरूप अहिलेको आक्रमण हो भन्दा अत्युक्ति नहोला । नेताहरू नसुध्रिने नै हो भने यसले विकराल रूप लिँदैन भन्न सकिँदैन । जुत्ता प्रहार गर्नेबाट नै सत्तारुढ दलका अध्यक्षले तत्कालीन सशस्त्र युद्धका समयमा गरेका कुरा र अहिले कुरामा भिन्नता आएपछि आफूले जुत्ता प्रहार गरेको बताएपछि अब यस्तो असन्तुष्टिका लहरले विकराल लियो भने नेता भाग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
साँच्चै नेताहरूले सशस्त्र युद्धमा देखाएका सपना बिर्सिएर आज सत्ताभोगी भएपछि हिजो युद्धका नाममा आफन्त गुमाएकाहरू सडकमा आउन बेर छैन । त्यतिबेला बोलेका कुराहरू अहिले पूरा गर्न सकको देखिँदैन । जनताको पक्षमा युद्ध थालेका नेताहरू आज सत्तामा पुगेपछि आदर्शवादी कुरा गर्न थालेका छन् । नेताहरूमाथि आक्रमणको मुख्य कारक नै यहि हो । यसअघि पनि तत्कालीन माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा नेतामाथि एकजनाले झापड हानेका थिए । जनताको मुद्दा लिएर आज नेताहरू राज्य सञ्चालन तहमा पुगेका छन् तर उनीहरूले जनताको मुद्दा बिर्सँदा जनतामा एक किसिमको विद्रोहको ज्वाला दन्किएको छ । यसलाई नेताहरूले बेलैमा सम्बोधन गर्नुपर्छ । अन्यथा यस्तो आक्रमण हुने क्रम रोकिँदैन तर पनि नेता मात्र होइन, कोहीमाथि पनि भौतिक आक्रमण गर्नु निन्दनीय हो । त्यसैले यो आक्रमण दुःखपूर्ण छ, कोही कसैमाथि भौतिक आक्रमण भत्र्सना गर्नैपर्छ । तर, नेता चाहिँ सुध्रिनै पर्छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६ ०८:२०