पहिलोपटक श्रममन्त्री हुँदा डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने वाचा कसेका थिए । दोस्रोपटक यही मन्त्रालय सम्हाल्न आइपुगेका अर्यालले एक घण्टाभित्र श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेइम्स प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र सूचना प्रविधि परामर्शदातासँगको छलफलका क्रममा अर्यालले आउँदो शुक्रबारदेखि उक्त व्यवस्था कार्यान्वयनमा आउने गरी काम गर्न निर्देशन दिएका हुन् । मन्त्री अर्यालले शुक्रबारसम्म उक्त व्यवस्था नगरिए विकल्प खोज्ने चेतावनीसमेत दिएका छन् ।
श्रम स्वीकृति छिटो दिने विषयभन्दा पनि कर्मचारी र बिचौलियाले सेवाग्राहीलाई कतिको दुख दिन्छन् भन्ने विषयमा श्रममन्त्रीले विशेष ध्यान दिनुपर्छ । सेवाग्राहीलाई जसरी पनि लुट्ने र दुःख दिने नियतका कर्मचारी र बिचौलियालाई निगरानी गरी कारबाही गरेमात्र यो क्षेत्र सुध्रन्छ । यसमा श्रममन्त्री चनाखो बन्नुपर्ने देखिन्छ ।
अर्को विषय कोरियामा म्यानपावरबाट कामदार पठाउने विषयमा अर्याल विवादमा तानिएका छन् । श्रम मन्त्रालयले इ–७ भिसामा कोरिया कामदार पठाउने निर्णय नभएको भन्दै मंगलबार विज्ञप्ति नै जारी ग¥यो । म्यानपावर कम्पनीले यस भिसामा कामदार पठाउने कार्यविधि सार्वजनिक गरी मन्त्रालयको वेबसाइटमा प्रकाशन गरेको थियो ।
पछि निराधार भन्दै श्रममन्त्री अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै इ–७ भिसामा दक्षिण कोरियामा कामदार म्यानपावरले पठाउने कुनै निर्णय नभएको बताए । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको पालामा नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रूपमा (इ–७ भिसा प्रणालीमार्फत) म्यानपावरले श्रमिक पठाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्था घातक भएको भन्दै आलोचना आउन थालेपछि मन्त्रालयले कुनै सम्झौता तथा निर्णय नै नगरेको अर्यालले दाबी गरे । जबकि फागुन १७ गते नै मन्त्रालयबाट त्यससम्बन्धी कार्यविधि स्वीकृत भएको थियो ।
मन्त्री र कर्मचारीले यसलाई गुपचुप राखे । फागुन २३ गते अर्याल मन्त्री भएर श्रममा आए । मन्त्री अर्याल आएको केही दिनपछि मन्त्रालयका कर्मचारीले वेबसाइटमा कार्यविधि सुटुक्क अपलोड गरिदिए । त्यसपछि अर्याल विवादित बने । प्रचार उनी आफैंले गरेजस्तै गरी बनेपछि अर्याल झस्केका थिए । अर्यालले यो विषय अघिल्ला मन्त्रीले गरेको स्वीकार गर्दै रद्द गरेको भए राम्रो सन्देश जाने थियो । यसरी मुख्य विषयमा चनाखो बन्न सकेमात्र कार्यकाल सफल हुने छ । नभए जसलाई पनि रिंग्याउने खालका बिचौलियाको जत्थाले मन्त्रीलाई अछुतो राख्दैनन् ।