काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाययुतीसँग रकम संकलन गरी फरार रहेको अरोपमा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेमा पुरुषोत्तम गिरी, श्रृति शाही, मन्दिरा बोम्जन गुरुङ, अस्मिता बम र अनिता कुमारी यादव रहेको प्रहरीले उल्लेख गरेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ८ घर भई हाल काठमाडौं बौद्ध बस्ने पुरुषोत्तम गिरीले जितमाया बललाई न्युजिल्यान्डमा रोजगारीको लागि पठाइदिने भन्दै ९० हजार रुपैयाँ लिएको ठगी गरेको बताइएको छ । यस्तै काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ६ बस्ने श्रृति शाही र मन्दिरा बोम्जन गुरुङले कुमार खड्कालाई मकाउमा काम लगाइदिने भन्दै तीन लाख ९३ हजार रुपैयाँ ठगी गरेको उल्लेख छ ।
त्यस्तै कैलाली टिकापुर नगारपालिका १ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने अस्मिता बमले कृष्ण चन्दसमेत तीन जनालाई कोरियामा काम लगाइदिने भन्दै पाँच लाख ७१ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ । यसैगरी सुनसरी भोक्राह गाउँपालिका ४ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने अनिता कुमारी यादवले राममाया तामाङसँग आकर्षक तलबमा कतारमा काम गर्न पठाइदिने भन्दै ५० हजार लिएर फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुले पीडितबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।