काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासले फागुन महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । दूतावासले २०८० फागुन महिनामा सम्पादन भएका प्रमुख सेवाहरुको तथ्यांकीय विवरण सार्वजनिक गरेको हो ।
दूतावासले प्रमुख कार्यसम्पादन विवरण महिनैपिच्छे सार्वजनिक गर्दै आइरहेको छ । यसरी दूतावासले गरेको कार्यसम्पादन तथा प्रगति विवरणमा फागुनमा तीन हजार ६०१ पासपोर्ट नवीकरणका लागि संकलन भएको उल्लेख गरेको छ भने चार हजार ५१४ वटा पासपोर्ट नवीकरणपश्चात् वितरण गरिएको जनाएको छ ।
त्यस्तै ८३ जनालाई भिसा प्रदान गरिएको छ भने १९४ जनाको ट्राभल डकुमेन्ट बनाइएको विवरणमा उल्लेख छ । यसैगरी २१३ जनाको कागजात प्रामाणीकरण गरिएको छ । साथै, रोजगारीका लागि संस्थागत रुपमा आएका ३९० वटा मागपत्र प्रमाणीकरण भएको दूतावासले जनाएको छ ।
१८० वटा समूहगत भिसा प्रमाणीकरण गरेको दूतावासले विभिन्न कारणले मृत्यु भएका नेपालीहरुको १३ वटा शव व्यवस्थापन गरेको जनाएको छ । यस्तै विभिन्न माध्यमबाट आएका ६६० वटा गुनासा तथा उजुरीहरुको सम्बोधन गर्दै फागुनमा क्षतिपूर्ति र इन्स्योरेन्सबापत ५६ हजार ७५९ एइडी अर्थात् झण्डै २० लाख ५९ हजार रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ ।