काठमाडौं– वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृतिलगायतका वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह सहज र छिटो बनाउनेगरी सुधार भइरहेको जानकारी दिएको छ । कार्यालयले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई छिटो, छरितो र व्यवस्थित रुपमा श्रम स्वीकृति दिने सम्बन्धमा यथासम्भव सुधार गरी सेवा प्रवाह भइरहेको उल्लेख गरेको छ ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छिटो, छरितो र व्यवस्थितरुपमा एक घण्टाभित्र श्रम स्वीकृति जारी गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)मा सुधारका प्रयास भइरहेको जनाएको छ । त्यस्तै विद्यमान वैदेशिक रोजगार सेवा व्यवस्थापन कार्यविधि, २०७९ संशोधन भई एक तहबाटै पुनः श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । यसअघि पुनः श्रम स्वीकृतिका लागि आवेदन तथा कागजात प्रमाणीकरण र श्रम स्वीकृति अलग–अलग हुँदै आएको थियो ।
यसैगरी सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप कार्मचारीहरुलाई तीन सिफ्टमा विभाजन गरी श्रम स्वीकृति दिने निर्णय भई कार्यान्वयनको चरणमा रहेको पनि कार्यालयले जनाएको छ । साथै सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताइएको छ । विद्यमान टोकन प्रणालीमासमेत सुधार ल्याइएको कार्यालयकी निर्देशक एवं सूचना अधिकारी कल्पना मास्के श्रेष्ठले बताइन् । ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रम स्वीकृति जारी गर्न आवश्यक सुधारका लागि निर्देशन भएअनुसार नै कार्यालयले यथासम्भव प्रयास गरिरहेको छ,’ उनले भनिन् ।
विद्यमान प्रणालीमा गरिएका सुधारलाई एक घण्टा वा सो भन्दा कम समयमा श्रम स्वीकृति दिनेतर्फ केन्द्रित गरिएको हुँदा सुधारको अभियानमा सहयोग गर्नसमेत आम सरोकारवालालाई कार्यालयले आग्रह गरेको छ । कार्यालयले श्रम स्वीकृति दिने कार्यमा सुधार भइरहेको जनाए पनि श्रममन्त्री डोलप्रसाद अर्यालले दिएको निर्देशनअनुसार एक घण्टाभित्र सेवाग्राहीले श्रम स्वीकृति पाउन सकेका छैनन् ।
मन्त्री अर्यालले यही चैत ४ गते एक हप्ताको समय दिएर शुक्रबारदेखि एक घण्टाभित्रमा श्रम स्वीकृति दिनेगरी फेइम्स प्रणाली सुधार गर्न निर्देशन दिएका थिए । उनले एक हप्ताभित्र फेइम्स सुधार गरी सेवा दिन नसके अन्य विकल्प खोजेर भए पनि एक महिनामा सो व्यवस्था गर्ने चेतावनीसमेत दिएका थिए ।