आज फागु (होली) पर्व । काठमाडौं उपत्यका र मुलुकको पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै छ । तराईमा भने भोलि पूर्णिमाका दि होली मनाउने गरिन्छ । रङहरुको पर्व मानिने होली अहिले सबै नेपालीले हर्षोल्लासका साथ मनाउन थालेका छन् । विगतमा भन्दा होली पर्वको व्यापकता फैलिँदै गएको छ । विभिन्न क्षेत्र र समुदायअनुसार फरक–फरक रुपमा यो पर्व मनाउने गरिएको छ । जस्तोः काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा मनाउने होली र सुदूरपश्चिममा मनाउने होलीमा भिन्नता पाइन्छ । राना थारुहरुले मनाउने होली अझ पृथक रहेको पाइन्छ । यस्तो विविधताले होली पर्वको महŒवलाई झन् बढाएको छ ।
होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दू धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागादौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।
होली पर्व विशेषगरी युवाहरुमाझ लोकप्रिय बन्दै गएको पाइन्छ । एक अर्कालाई रङ दलेर रमाइलो गरी मनाइने भएकोले युवाहरुको आकर्षण बढेको बुझ्न सकिन्छ । होली संस्कृति यसरी युवाहरुले अँगाल्दै जानु राम्रो पक्ष हो । यसले होली पर्वको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने छ । तर, होली पर्वमा अनेक विकृतिसमेत बढ्दै गएका छन् । जथाभावी रङ, लोला, केमिकल मिसाइएका पानी छ्याप्ने, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्नेजस्ता विकृतिहरु बढ्दै गएको छ ।
यसले समग्र पर्वलाई विकृत त बनाएको छ नै उच्छृंखल रुपमा होली मनाउँदा बर्सेनि धेरैले ज्यान गुमाउन पुगेका छन् । कतिपय असावधानीका कारण पनि ज्यान जाने गरेको छ । घरको छतमा होली मनाउँदा लडेर ज्यान गएका थुप्रै उदाहरण विगत वर्षहरुका छन् । त्यसैले होली संयमित र मर्यादित रुपमा मनाउन आवश्यक छ ।
आफ्नो समूहमा संयमताका साथ होली मनाउनुबाहेक अपरिचित र बटुवालाई लोला, रङ, पानीलगायत हान्नु, मादकपदार्थ वा लागुपदार्थ सेवन गरी होहल्ला गर्नु, झैझगडा गर्नु गैरकानुनी काम हो । त्यसैले यस्तो व्यवहार गर्नेमाथि प्रहरीले निगरानी बढाउनुपर्छ । यस्ता क्रियाकलापमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्नु प्रहरीको जिम्मेवारी हो । मनोरञ्जन गर्न कसैलाई रोक लगाउनु हुन्न तर मनोरञ्जनको नाममा हुने उच्छृंखलता बन्द गराउनैपर्छ । यसमा होली मनाउने सम्पूर्णको ध्यान जाओस् । होलीको शुभकामना !