काठमाडौं– प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले यस वर्षको होली पर्व गोकर्णेश्वरस्थित अपांग पुनःस्थापना केन्द्र नेपालका बालबालिकासँग मनाएको छ । मञ्चले केही वर्षयता केन्द्रका वालवालिकासँग होली मनाउँदै आएको छ ।
मञ्चका अध्यक्ष जनक रावलको सक्रियतामा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले केन्द्र पुगेर बालबालिकासँग होली खेल्नुका साथै खाना खुवाउने र ‘ह्याप्पी होली’ अंकित टिसर्ट वितरण गरे । मञ्चले केन्द्रलाई आर्थिक सहयतास्वरुप केन्द्रका अध्यक्ष उदयबहादुर लिम्बूलाई ६६ हजार ६०० रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत अपांगता भएका बालबालिकाका लागि आर्थिक सहयोग गरिएको मञ्चका अध्यक्ष जनक रावलले बताए । ‘आगामी दिनमा पनि विभिन्न अवसर पारेर यस्तै अपांगता भएका, असहाय, अनाथ तथा वृद्धवृद्धाहरुको संरक्षणका लागि मञ्चको सक्दो सहयोग रहने छ,’ उनले भने । हाल उक्त संस्थामा ४० जनाभन्दा बढी शारीरिक तथा मानसिकरूपमा अपांगता भएका बालबालिका रहेका जानकारी दिइएको छ ।