बिआरआई भए पनि अरू परियोजना भए पनि नेपाली जनतालाई जानकारी दिनुपर्छ । नेपाली जनताको तर्फबाट जान लागेपछि भन्नुपर्छ । सार्वजनिक भ्रमण भएकोले संसद्मार्फत भन्नुपर्छ ।
डा. प्रकाशचन्द्र लोहनी
पूर्वअर्थमन्त्री
काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा बहुप्रतिक्षित भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआर्ई) परियोजनाबारे पनि छलफल हुने भएको छ । एमालेसहितको गठबन्धन बनेपछि यसै विषयमा थप छलफलका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नौ दिने चीन भ्रमणमा जान लागेको परराष्ट्र मामलाका जानकारहरु बताउँछन् ।
यद्यपि विवादमा तानिने डरले सरकारले यस विषयलाई भ्रमणको एजेण्डा बनाएको छैन । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट नेताहरुका अनुसार देश आर्थिक संकटसँग जुधिरहेको बेला चीनबाट यस परियोजनामार्फत लगानी भित्र्याउने मौका यही भएको बताइएको छ । ‘एमालेसँगको गठबन्धनमा सरकार बनेकै बिआरआई भित्र्याउन हो,’ दाहालनिकट एक नेताले भने, ‘यो नेपालका लागि सुनौलो मौका पनि हो ।’
गत असोजमा अमेरिका हुँदै चीन पुगेर फर्केपछि काठमाडौंमा प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत छन् सङसँग भेटेका थिए । त्यतिबेला दाहालले आफू बिआरआईप्रति सकारात्मक रहेको बताएका थिए । यद्यपि त्यतिबेला नेपाली कांग्रेस सत्ता साझेदार थियो । कांग्रेस बिआरआईप्रति सशंकित रहेको कारण दाहाल निर्णय गर्न हच्किएका थिए । यसपटक भने एमाले सत्तासहयात्री पाएको छ माओवादीले । नेकपाकालमा प्रधानमन्त्री रहेको केपी शर्मा ओलीले यो परियोजना अघि बढाउन खोजेका थिए । पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०८७ मा यस परियोजनामाथि प्रश्न उठेको थियो ।
त्यतिबेला देउवाले अनुदानका रुपमा पाएमात्र रसुवागढी–काठमाडौं रेलमार्ग बनाउने नभए ऋणमा सहमत हुन नसक्ने बताएका थिए । यसपटक यही परियोजनामार्फत विदेशी लगानी भित्र्याउने योजना दाहालको देखिन्छ । भ्रमणमा परराष्ट्रमन्त्रीले पक्कै यसबारे छलफल गर्नसक्ने पूर्वअर्थमन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले आशंका गरे । ‘घुम्नमात्र गएको त हैन होला ?,’ लोहनीले प्रश्न गरे ।
सहुलियतपूर्ण ऋण हुनुपर्यो । ठेक्कादेखि सबै सामान मान्छे उनीहरुकै हुने हुनु भएन । नेपालको आवश्यकता र नेपाललाई सहयोग हुने किसिमको हुनुपर्यो
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस
यद्यपि यस्तो विषयमा खुलेर जानु नै फाइदा हुने उनी बताउँछन् । ‘नेपाली जनतालाई जानकारी दिनुपर्छ । नेपाली जनताको तर्फबाट जान लागेपछि भन्नुपर्छ । सार्वजनिक भ्रमण भएकोले संसद्मार्फत भन्नुपर्छ,’ लोहनीले भने ।धेरैले बिआरआई के होला भन्ने प्रश्न गरेकाले पनि यसको उद्देश्य र लगानीको अवधारणामाथि सार्वजनिक छलफल चल्नुपर्नेसमेत उनको सुझाव छ । ‘लगानी हामीलाई चाहिने हो भने सबै कुरा डिफाइन हुनुपर्यो,’ लोहनीले भने ।
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत भने नेपाललाई सहयोग हुने किसिमको परियोजना स्वीकार गर्न सकिने बताउँछन् । यद्यपि महँगो ऋण नेपाल सरकारले धान्न नसक्ने उनको भनाइ छ । ‘सहुलियतपूर्ण ऋण हुनुपर्यो । ठेक्कादेखि सबै सामान मान्छे उनीहरुकै हुने हुनु भएन । नेपालको आवश्यकता र नेपाललाई सहयोग हुने किसिमको हुनुपर्यो,’ महतले भने ।
परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणलाई फलदायी बनाउन शनिबार विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा श्रेष्ठले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिएका थिए । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताए । ‘अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ । अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुने छ,’ श्रेष्ठले भने ।
छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे, रक्षासचिव किरणराज शर्मा, ऊर्जासचिव गोपालप्रसाद सिग्देल, सिँचाइसचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।
पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चिनियाँ एक्जिम बैंकबाट २८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको थियो । विमानस्थलको दोस्रो किस्ता ब्याज भुक्तानीसमेत नेपालले गर्न नसकेको अवस्थामा प्रधानमन्त्री दाहालले उक्त ऋणको निश्चित प्रतिशत मिनाहा गराउन आफूले पहल गरिरहेको बताएका छन् । बिआरआई सहमतिअघि सरकारले यो विषयलाई मूल मुद्दा बनाउने पनि बताएको छ ।
यस्तो छ भ्रमण तालिका
आइतबार राति ११ बजे चीनको ग्वाञ्जाउ पुगेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका सचिव ली सीले स्वागत गरेका छन् । उनी आज बेइजिङ प्रस्थान गर्ने कार्यतालिका रहेको छ । त्यहाँ वैदेशिक विभागका मन्त्री लिउ जियानचाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
चीन भ्रमणको क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग दिवाभोज र भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यो भेटलाई महŒवका साथ हेरिएको छ । सोही साँझ बेइजिङस्थित नेपाली दूतावासमा परराष्ट्रमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गरिएको छ ।
मन्त्री श्रेष्ठ बुधबार चोङछिङ प्रस्थान गर्ने छन् । चोङछिङका कम्युनिस्ट पार्टीका स्थानीय सचिवसँग भेटवार्ता गर्ने छन् । त्यहाँ बिहीबार हुने पर्यटन प्रदर्शनीमा मन्त्रीको अवलोकन कार्यक्रम तय भएको छ । सोही दिन चोङछिङका मेयरसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार चोङछिङबाट उनी ल्हासा प्रस्थान गर्ने छन् ।
ल्हासामा तिब्बतका पार्टीसचिव वाङ जुङजेङसँग भेटवार्तापछि शनिबार मनसरोवर तीर्थ निस्कने कार्यक्रम तय भएको छ । सोही दिन ल्हासा फिर्ता भएर आइतबार ल्हासाबाट छेन्दु पुग्ने र अर्को सोमबार परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश आइपुग्ने छन् ।