बोलीचालीको भाषामा टिबी भनिने रोगको नाम सुनिनसाथ केही वर्षअघिसम्म मानिसहरु आतंकित हुन्थे । उनीहरुको छेउछाउ पर्नबाट जोगिनु नै रोग लाग्नुबाट उम्किनु हुन्थ्यो । नेपाली समाजमा कुनै बेला कोरोना महामारीले भन्दा पनि अत्याएको टिबी ट्युबरक्लोसिस नामक कीटाणुका कारण सर्छ । खोकी लगातार लाग्ने भएकोले कतिपयले सुर्ती, तमाखु खानेलाई यो रोग लाग्छ भन्ने पनि थियो । तर क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आए पनि रोग सर्ने जोखिम हुन्छ ।
यसैले पनि होला आफूलाई टिबी लाग्नेबित्तिकै रोगीहरुले रोग सार्वजनिक गर्दैनन् । अर्को कमजोरी भनेको रोग लाग्दा पनि परीक्षण गर्नसम्म पुग्दैनन् । यस्तै हेलचेक्र्याइँका कारण विश्वमा उच्च मृत्यु दरको १० रोगमध्ये एक यो रोग पनि रहेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार ४४७ जनामात्र उपचारको दायरामा आएको देखिन्छ । क्षयरोगकै कारण नेपालमा बर्सेनि १८ हजार जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक छ । गरिबीका कारण पनि रोग लुकाउने नेपालीको बानी छ । अर्को माथि भनेझैं रोग भनिदिए छिछि दुरदुर गर्ने डर । सरकारले सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा निवारण गर्ने संकल्प राखेको छ ।
चेतनाको कमी र सरकारले यससम्बन्धी सचेत पार्न नसक्नु अर्को कमजोरी हो । यद्यपि ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नारासहित आइतबार विश्व क्षयरोग दिवस मनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले यो दिवस मनाए पनि यसबारे खासै चर्चा भएको देखिन्न । क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा हुन्छ । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।
‘क्षयरोगमुक्त नेपाल अभियान’ अन्तर्गत हाल १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको सरकारले जनाएको छ । तर ७५३ वटै स्थानीय तहमा यस्तो सेवा लागू भने गरिनुपर्छ । श्वासप्रश्वासबाटै सर्ने रोग भएकाले सरकारले यो विषयमा विशेष कार्यक्रम नल्याए सर्वसाधारणले बाध्यतामा परेर रोग नजाँच्ने क्रम जारी हुने छ । यतिमात्र हैन महामारी निवारण योजना पनि असफल हुने छ ।