काठमाडौं– विवादित व्यवसायी दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बिएण्डसी मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले सोमबार रिट जारी गर्दै बिएण्डसी मेडिकल सञ्चालन गर्न आदेश दिएको हो ।
करिब १३ वर्षपछि मेडिकल सञ्चालनको अनुमति पाउने भएपछि व्यवसायी प्रसाईंले खुसी जनाए । ‘देशमा सरकार एकातिर लाग्दा पनि अदालतले न्याय दिएको छ । देशमा न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ,’ व्यवसायी प्रसाईंले भने । बिएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाएको थियो भने २०७३ सालमा अस्पतालले ३०० शय्याको अस्पताल सञ्चालन स्वीकृति पाएको थियो । तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. गोविन्द केसीले आमरण अनसन थालेपछि चिकित्सा शिक्षा ऐन आयो । त्यसपछि प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाउन सकेनन् ।
यसै विषयमा प्रसाईंले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्ध २०७७ असार २१ गते मुद्दा दायर गरे । सरकारकै अनुमतिमा मेडिकल क्षेत्रमा ठूलो लगानी गरिसकेको उल्लेख गर्दै सञ्चालन अनुमति नपाउँदा ठूलो क्षति हुने जिकिर प्रसाईंले गरेका थिए । यद्यपि यो मागको सुनुवाइ गराउन भने प्रसाईंले ठूलै आन्दोलन चर्काउनुप¥यो । अर्बौं ऋण लागेकोले आफ्नो पक्षमा फैसला नआए झापामा रहेको मेडिकल भत्काउने उद्घोष गरेका प्रसाईं आफ्नो आन्दोलन भने नछोड्ने बताउँछन् । ‘युनिभिर्सिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । चिकित्सा शिक्षाको अध्यक्ष प्रधानमन्त्री । त्यसैले मेडिकल कलेजको सम्बन्धन प्रधानमन्त्रीले दिनुपर्ने हो । तर देशमा २०६८ यता १३ वर्षमा कति प्रधानमन्त्री फेरिए । तर यो काम अदालतले गर्नुप¥यो भने नेताको के काम ?,’ प्रसाईं प्रश्न गर्छन् ।
मेडिकल छोराछोरीले जिम्मा लिने र आफू आन्दोलनमै लाग्ने प्रसाईं बताउँछन् । ‘म आफ्नो अभियानबाट पछि हट्दिनँ,’ प्रसाईंले भने । यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईंले निजी रूपमा राखिएका दुई जना अंगरक्षक दीपक खड्का र राजकुमार धिमाल भने हतियारसहित सर्वोच्च छिर्न खोज्दा पक्राउ परेका छन् । उनीहरूमाथि हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धनका लागि अनेकौ प्रयास
कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री रहेको बेला ठाडो आदेशमा काठमाडौं विश्वविद्यालय (केयू)बाट उक्त कलेजलाई सम्बन्धन दिने कुरा बाहिर आएपछि अभियन्ता डा. केसीलगायत अगुवा निषेधाज्ञाका बीच विरोधमा उत्रिएका थिए । २०७७ गत फागुनमा केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा बिएण्डसी मेडिकल कलेजकै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन नै गरेका थिए । उक्त अस्पताल प्रसाईंले नै सुरु गरेका हुन् । उद्घाटनपछि प्रधानमन्त्रीले कलेजले चाँडै नै केयूबाट सम्बन्धन पाउने बताएका थिए ।
‘कसैले आलोचना गर्दैमा प्रसाईं पछाडि हट्ने मानिस होइनन् । उल्टै आलोचनालाई ब्राण्ड बनाउने विशेषता उहाँमा छ,’ प्रसाईंको प्रशंसा गर्दै त्यतिबेला ओलीले भनेका थिए, ‘भन्नेहरू भन्दै गर्छन् । आलोचना गर्नेहरू गर्दै गर्छन् । दुर्गा प्रसाईंको विशेषता छ । मार्सी चामल भनेर आलोचना भयो । उहाँले एउटा ब्राण्ड नै बनाइदिनुभयो । माफिया ह्विस्की, डन इनर्जी ड्रिंक, जे–जे गाली गरिएको छ । दुर्गा प्रसाईंले त्यही ब्राण्ड बनाइदिनुभएको छ ।’
प्रसाईंको तारिफ गर्दै गरेका ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको तारिफ गरेका थिए । योसँगै ओलीले बिएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने घोषणासमेत गरिदिएका थिए । ‘यो क्यान्सर अस्पताल मात्र हैन । बिएण्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ । अस्पताल लेखिएको ठाउँमा शिक्षण अस्पताल हुने छ । सम्बन्धनको यो कुरा अघि बढिसकेको छ । उहाँ आफैंलाई पनि थाहा छ । केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन प्रक्रिया अगाडि बढिसकेको छ । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने छ,’ ओलीले भनेका थिए ।
राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा १३ (६) मा ‘ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यकाबाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुने छ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन’ भन्ने प्रावधान छ ।
२०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो । तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. केसीले आमरण अनसन बसेपछि चिकित्सा शिक्षा ऐन आयो । त्यसपछि प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाउन सकेनन् ।डा. केसीले योग्यता क्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए । डा. केसीको बारम्बारको अनसनपछि सरकारले चिकित्सा शिक्षा ऐन ल्याएको थियो । उक्त ऐनमा टेकेर चिकित्सा शिक्षा आयोग बनेपछि योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था लागू भएको थियो ।
२०७६ सालमा चिकित्सा आयोगमा बिएण्डसी सम्बन्धनका लागि गएको थियो । तर २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।यसबीचमा प्रसाईंले राजनीतिक रुपबाट मेडिकल कलेज सञ्चालनको अनुमति लिन अनेकौं प्रयास पनि नगरेका होइनन् । तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्षहरुलाई घर लगेर मार्सी चामलको भात खुवाएर उनी चर्चामा आएका थिए । दुई पार्टी एकता भएर नेकपा बन्दा पनि ओली र दाहालसँग निकट सम्बन्ध रहेका प्रसाईंले अनुमति पाउन सकेका थिएनन् । उनी एमालेका केन्द्रीय सदस्य पनि बने ।
तर मेडिकल कलेजले ओलीले भनेझैं सञ्चालनको अनुमति पाउन सकेन । किनभने ओलीलाई त्यतिबेलै दाहाल र माधव नेपालले साथ छाडिसकेको थियो भने कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताको नेतृत्वमा पुगेको थियो । त्यसपछि पार लाग्ने नदेखेर प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहको पछि लाग्दै ओलीको कडा आलोचक बनेका थिए । यद्यपि संयोग मान्नुपर्छ, उनै ओली, दाहाल र माधव सत्तामा रहेकै बेला प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाएका छन् ।