काठमाडौं- वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड र रोमानिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका–८ घर भई हाल काठमाडौं मनमैजु बस्ने समिरराज वाग्ले र रुकुम चौरजहारी नगरपालिका–४ घर भई हाल काठमाडौ नयाँ बसपार्क बस्ने खड्कबहादुर भण्डारी रहेका छन् ।
वाग्लेले जेविशा थापालाई न्युजिल्याण्ड पठाई मासिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी तलबमा एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले पीडितसँग पटक–पटक गरी एक लाख ५० हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धाबाट खुलेको छ । रकम संकलन गरी फरार रहेका वाग्लेलाई खोजतालासका क्रममा मनमैजुबाटै पक्राउ गरिएको बताइएको छ ।
त्यस्तै अर्का व्यक्ति भण्डारीले तिलक नेपालीलाई मासिक एक लाख रुपैयाँभन्दा बढी तलब हुनेगरी रोमानियाको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ । उनले पीडितबाट पटक–पटक गरी तीन लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले उल्लेख गरेको छ । फरार अवस्थामा रहेका भण्डारीलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।