काठमाडौंको व्यवसाय ‘भाइब्रेन्ट’ पार्न सरकारले २४ घण्टै ठमेल क्षेत्र र दरबारमार्ग क्षेत्र खुला गर्ने तयारी गरेको छ । यसअघि पनि विभिन्न सरकारले यो क्षेत्र खुला राख्ने प्रयास भने नगरेको होइनन् । सुरक्षा व्यवस्था चुस्त नभएको र राति महँगो मूल्यसूचीका कारण केही क्षेत्रबाहेकमा प्रशासनले कडाइ गर्न थाल्यो ।
नेपाल लगभग दिनको आठ घण्टा सुत्छ । त्यसैले पनि समृद्धिको रफ्तार कछुवा गतिमा छ । विकसित देशहरु प्रायः २४ घण्टा नै खुला हुन्छ । यातायात दिनरात चल्छ । हवाइ यातायात, रेल दिनरात सञ्चालन हुन्छ । यातायात दिनरात चलेपछि सहर रातमा पनि जागै रहन्छ । यसले अर्थतन्त्र भाइब्रेन्ट (चलयमान) बन्छ । तर नेपालमा रातिको समयमा रात्रि बसबाहेक अरू चल्दैन । त्यो पनि पूर्व–पश्चिम कुद्ने लामो दूरीका यातायातमात्र । ती बस काठमाडौंको कुनै चोकमा मध्यराति आइपुगे आफ्नो निवास पुग्न अर्को सवारी पाउन मुस्किल हुन्छ ।
यही विषयलाई मध्यनजर गर्दै अहिले नेताहरुबीच रात्रिकालीन समयमा पनि सहर खुला राख्ने हुटहुटी देखिन्छ । रात्रिकालीन व्यवसाय सञ्चालनका लागि आधारभूत पूर्वाधार तयार गरिएन भने त्यो सरकारका लागि रहरमात्र हुने छ । जस्तो ठमेल खुला राख्ने हो भने उपत्यकाभर पुग्ने सवारीसाधनको व्यवस्था ती क्षेत्रमा २४ घण्टै उपलब्ध हुनुपर्छ । यतिमात्र हैन राति गन्तव्यमा पुग्ने स्थानको सुरक्षाको विषयमा सुरक्षा संयन्त्रले सोच्नुपर्छ ।
यसो गर्दा प्रशासनले ८ नबज्दै उपत्यकाका अरू क्षेत्रमा डन्ठा देखाएर साधारण पसल बन्द गर्ने चलन हटाउनुपर्छ । बरू यसका लागि सञ्चालकहरुले सिसिटिभी राख्ने, सुरक्षाका सामान्य विषयमा प्रशिक्षण दिनेगरी ११ बजेसम्म अन्य क्षेत्र पनि खुला राख्ने वातावरण बनाउनुपर्छ । यसरी सहर राति अबेरसम्म खुला रहँदा एक त उज्यालो हुन्छ नै अर्को सहरबासीमा त्रास पनि रहँदैन । व्यापार साना सहर र ठूला सहरको नेटवर्किङ हो । ठमेलमा महँगो तिर्न नसक्नेहरु त्यहाँ घुम्दै केही सस्तो पाउने ठाउँमा पुग्छन् । यसले बजारलाई भाइब्रेन्ट बनाउँछ नै ।
यसैले सहर खुला राख्नका लागि आकर्षित क्षेत्र, व्यवसायीलाई सुरक्षा पनि आवश्यक विषय हो । यी विषयमा सरकारले सुरक्षा संयन्त्र, व्यवसायी र स्थानीयसँग छलफल गरेर कदम चाल्नु बुद्धिमानी हुने छ । यसरी २४ घण्टै सहर सञ्चालन हुँदा रोजगारी बढ्ने, विद्युत् तथा खाद्यवस्तुको खपत पनि बढ्ने सम्भावना छ । यसले चौतर्फी फाइदा हुने निश्चित छ ।