बा ! आमा कहिले आउनुहुन्छ ? छ वर्षे भुण्टेले रामकाजीलाई सोध्यो । आमाको अनुहार सायद भुण्टेलाई थाहा छैन । केवल आमामात्र थाहा छ । भुण्टे तीन वर्षको हुँदा उसलाई छाडेर खै कसको लहैलहैमा लागेर विदेश गाकी । रामकाजीले विदेश नजा भनेको पनि हो । तर उसको ढिपीले रामकाजीले नाइँ भन्न सकेन । आफू बेरोगजार भएका कारण श्रीमतीलाई नचाहँदा नचाहँदै पनि उसले विदेश जान मौन स्वीकृत पनि गरेको थियो । कुन्नी कुन मामाको छोरी उतै खाडीतिर गाकी । उनैले बोलाएर काखको छोरो छाडेर गाकी भुण्टेकी आमाले भुण्टेलाई कत्तिको सम्झेकी छ थाहा छैन । तर भुण्टेले हरेक क्षण क्षणमा आमा सम्झिरहेको छ ।
भुण्टेलाई आमा–आमा जति नै भने पनि रामकाजी उसलाई कहिल्यै पनि उत्तर दिँदैन । उसलाई थाहा छ भुण्टेकी आमा विदेश गएको दिनदेखि नै रामकाजीसँग सम्पर्कमा आएकी छैन । रामकाजी अलि सोझो कसैको कुरा पनि नाइँ नभन्ने बानी । कसैको अहित नचिताउने भएकाले सानैमा बाउ गुमाएकोले रामकाजीलाई छिमेकीले पनि माया गर्थे । बाउ बितेको दुई तीन वर्ष पनि नबित्दै रामकाजीकी आमाले उसलाई छाडेर डोलाघरे ध्रुवेसँग पोइल गएकी रे !
रामकाजी यसै टुहुरो त्यसमाथि पनि जन्म दिएको आमाले छाडेर गएपछि उसको हविगत कस्तो भयो होला ? तर दैवले कोही न कोही जुराइदिन्छ भन्थे । बाआमा नभएको रामकाजीलाई हेर्ने त कोही पनि थिएन । रामकाजीलाई पल्ला घर साहिली काकीले लिएर आफूसँगै राखिन् । निसन्तान साहिली काकीलाई गाउँलेहरुले बाँझी भनेर खासै रुचाउँदै थे । विचरा साहिली काकीको बाँझोपनमा उनको के नै दोष थियो र ! तर गाउँलेहरुले भने अघिल्लो जुनीको पाप भन्दै अन्धविश्वासमा साहिली कार्कीलाई बेसहारा नै बनाइदिएका थिए । बेसहारा साहिली काकीले रामकाजीलाई आफ्नै सन्तानजस्तै गरी पालनपोषण गरेर राखेकी थिइन् ।
रामकाजीलाई पालनपोषण गरेकी साहिली काकी पनि विष्टको खेतमा डल्ला फोर्न मेला गएकी बेला रगत वान्ता गरेर खेतमै ढलेकी उठ्दै नउठी प्राण त्यागिन् । विचरा रामकाजी एकलो एकलो, सधैँ नै एकलो ।वल्लोघर पल्लो घर गर्दै अलि उमेर भएपछि गाउँहरुको सहयोगले केही गर्न खोज्दै गर्दा माथ्ला घरे डल्लीकी भदैनी र रामकाजीको विवाह भएको थियो ।डल्लीकी भदैनी हेर्दा राम्री, जिउडाल पनि भएकी । गाउँमा गरिखान सक्ने भएकाले नै सोझो रामकाजीसँग डल्लीले आफ्नो भदैनी संगीता पारिदिएकी हुन् । आजकल राम्रा मान्छे पाउँदैनन् भन्दै डल्लीले रामकाजीलाई बेलैमा भदैनी बिहे गर्दिएकी अरे ।
सोझो रामकाजी बिहे भएको दुई वर्षजति विगतका सारा पीर दुःख विर्सिएर नयाँ जिन्दगी जिउने अभिलाशामा नै थिए । डल्लीकै भदैनी पनि रामकाजी पाएर निकै खुसी नै थिई । त्यसपछि संगीताले भुण्टेलाई जन्म दिइन् ।भुण्टे जन्मिएकै वर्ष गाउँमा पहिरो गयो । त्यही पहिरोमा रामकाजीको गरिखाने खेतबारी सबै गयो । दुई छाक आफ्नै बारीमा उत्पादन गरी गर्जो टार्दै आएको रामकाजीलाई फेरि अर्कोपटक पनि भगवान्ले लात हाने । सायद रामकाजीको भाग्य नै त्यस्तै थियो होला !
न बस्ने बास न कोही सहयोग गर्ने आश । पहिरोले घरखेत लगे पनि वन छेउ सरकारी जमिनमा छाप्रो हालेर रामकाजीले बस्न थाल्यो । छाप्रो बस्न थालेपछि रामकाजीले श्रीमती संगीताले रामकाजीसँग विस्तारै झगडा गर्न थालिन् । श्रीमती यो भएन त्यो भएन भन्दै झगडाको निहुँ त निकाल्थी । तर, रामकाजी मौन बसिरहन्थ्यो । विचरा जन्मेदेखि नै सहारा नपाएको उसले श्रीमतीले जे भने पनि सहनुको विकल्प देखेको पनि थिएन । यो यस्तै हो भन्ने सोचिरहन्थ्यो ।
गाउँका धेरै महिला लोग्नेमान्छे नहुने मुग्लान छिरे अलिअलि हुने विदेश उडे । संगीतालाई अरू जस्तै विदेशको हावाले छोइसकेको थियो । भए पनि नभए पनि आधुनिक फेसनमा रमाउन सिकेकी थिई संगीता । उसकी मामा नाता पर्नेकी छोरी उतै छ उसैले बोलाकी छे भन्दै आफू पनि मामाकी छोरी भएकै ठाउँमा जान्छु भन्थी ।
रामकाजीले दुःखसुख गाउँमै केही गरौं । बच्चा छाडेर अर्काको देश जाँदैमा कहाँ सुख पाइन्छ र भनेर सम्झाउने पनि गर्दथ्यो । दुःख संघर्षमा हुर्केको रामकाजी र बाउआमाको काखमा हुर्केकी संगीतामा आकाश जमिन नै फरक व्यवहार हुन थाल्यो । रामकाजीले भनेको मान्न क्रमशः छाडी । संगीता खाली मामाकी छोरीकै कुरामा लागि ।
रामकाजी भित्रभित्रै दिक्क भइसकेका थिए । आफू टुहुरो भएकाले बच्चालाई छाडेर कहीँ नजाने बरू जत्ति नै दुःख गरेर भए पनि गाउँमै बस्ने र गाउँमै रमाउने उसको भित्री इच्छा थियो । उसले श्रीमतीलाई पनि त्यसैगरी नसम्झाको कहाँ हो र ? तर संगीता रामकाजीको भनाइ मान्ने पक्षमा थिइनन् । बरू लोग्ने छाड्ने तर विदेश जान नछाड्ने ढिपी कस्न थाली ।
रामकाजी विलखवन्द थियो । ऊ बाहिर जति नै हाँसे पनि उसको भित्री मन निकै नै रोएको थियो । श्रीमतीलाई निकै सम्झायो । बरू आफू नै विदेश जान्छु, कमाएर पठाउँछु, भुण्टेलाई सम्हाल भन्ने गर्दथ्यो । तर संगीताले रामकाजीलाई हैन आफैं विदेश जाने सोच बनाइसकेकी थिई । ऋणधन जे गरेर भए पनि संगीता विदेश जाने नै भई । उसले जन्म दिएको भुण्टे श्रीमान्को जिम्मा लगाएर विदेश जाने निधो गरिसकेकी थिई । रामकाजी श्रीमती संगीतालाई गाउँमै राखेर आफू विदेश जाने तम्तयारी गर्दै गाउँका बालकृष्ण मास्टरसँग सल्लाह पनि लिँदै थियो ।
तर रामकाजीले विदेश जाने योजना बनाईरहँदा संगीता आफैले त्यही मामा पर्नेको छोरीसँग विदेश जान सबै तारतम्य मिलाइसकेकी रहिछ । संगीता सोझो श्रीमान् रामकाजी र काखको छोरो भुण्टे छाडेर मामा पर्नेको छोरीसँग खाडी गइन् । उतै हराइन् । खोजखबर र अत्तोपत्तो छैन । विदेश गएको तीन वर्ष भएसक्यो भुण्टे रामकाजीलाई आमा चाहियो मात्र भनिरहन्छ तर रामकाजीले भुण्टेलाई न त आमा देखाउन सक्छ न त बोलाउन सक्छ । केवल टोलाउनबाहेक रामकाजी केही गर्न सकिरहेको छैन ।
विचरा ! बालक भुण्टेलाई केही जवाफ दिन सक्दैन । रामकाजी आफ्नै बाल्यकाल सम्झन्छ । आफू बाउआमा नभएर टुहुरो, भुण्टे भएर टुहुरो !दिनबित्दै गए । महिना बिते वर्ष बिते । संगीताको अत्तो पत्तो भएन । रामकाजी भुण्टे वोकेर डल्ली पटक पटक फूपूकोमा पुग्थ्यो । सोधीखोजी गर्दथ्यो तर कसैले केही भन्दैनथे । ऊ भुण्टेलाई आमा देखाउन चाहन्थ्यो चिनाउन चाहन्थ्यो तर सकिरहेको थिएन । किनकि संगीताले जुन दिन घर छाडेर विदेश जान्छु भनेर हिँडी त्यस दिनदेखि सम्पर्कसमेत गरेकी थिइन ।
आकाशमा काला बादल मडारिएको छ । झरी पर्लाजस्तै गरी गड्याङ गुडुङ पनि गरिरहेको छ । पिढीमाथि झुण्ड्याएको रेडियोमा विरही भाका बजिरहेको छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो’ । रामकाजी भुण्टेलाई पिँढीमा बसेर खाना खुवाउँदै छ । त्यही बेला डल्ली फूपूको छोराले खबर ल्याउँछ– खाडीमा घरेलु श्रमिकका रुपमा काम गर्न पुगेकी संगीता मालिकको कुटाइबाट उतै बितिन् रे !
रामकाजी छाँगोबाट खसे जस्तै हुन्छ न बोल्न सक्छ न उठ्न सक्छ ! अब भुण्टेलाई के जवाफ दिन्छ । न त रामकाजीले न्याय पायो ! नत अब संगीताले नै न्याय पाउँछे ! जीन्दगी पीरै पीरमा छ ।