काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि नेपालीलाई व्यक्तिगत रुपमा रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार राजधानीमा आयोजना गरेको ‘काठमाडौंको आँखामा कर्णाली’ विषयक कार्यक्रम अर्यालले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारेका हुन् ।
मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्यांकनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराए । सरकार अविछिन्न उत्तराधिकारी हुने र निरन्तर चलिरहने विषयका सन्दर्भमा भने आफू सजग रहेको उनले बताए । मन्त्री अर्यालले श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताए ।
यद्यपि वैदेशिक रोजगार विभागले भने रुस जान चाहने नेपालीलाई व्यक्तिगत श्रम स्वीकृतिमा बन्देज रहे पनि संस्थागत (म्यानपावरमार्फत) रुपमा जाने र पुनः श्रम स्वीकृति लिनेलाई खुला नै रहेको जनाएको छ । सरकारले रुसमा पुगेर नेपालीहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै गत पुस १९ गते रुस र युक्रेन लागि दिइने सबैखाले श्रम स्वीकृति अनिश्चितकालका लागि रोकेको थियो । तर त्यसको झण्डै दुई महिना पछाडि अर्थात् फागुन दोस्रो हप्ताबाट पुनः श्रमस्वीकृति र संस्थागत श्रम स्वीकृति दिन थालिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
‘रुसमा व्यापार व्यवसाय र श्रम गरिरहेका थुप्रै अप्रवासी नेपालीहरु समस्यामा परेका कारण पुनः श्रम स्वीकृति खोल्नुपर्ने अवस्था देखिएको हुँदा यसअघिकै मन्त्रीज्यू (शरत सिंह भण्डारी)ले निर्णय गरेअनुसार नै पुनः श्रम स्वीकृति दिने गरिएको हो,’ महानिर्देशक घिमिरेले भने, ‘यस्तै संस्थागत श्रम स्वीकृतिको लागि एउटा म्यानपावरले माग गरेको थियो, त्यसलाई पनि दिने निर्णय भयो, सोही अधारमा डिमान्ड ल्याउने सबै म्यानपावरलाई संस्थागत श्रम स्वीकृति दिनुपर्छ भनेरै खुला गरिएको हो ।’ संस्थागत र पुनः श्रम स्वीकृति लिनेहरु जुन प्रयोजनका लागि गएका हुन् त्यसैमा आबद्ध भएको पाइएको भन्दै महानिर्देशक घिमिरेले व्यक्तिगत रुपमा जान खोज्नेका लागि भरपर्दो अधार नदेखिएका कारण अझै व्यक्तिगत श्रम स्वीकृतिमा बन्देज कायमै रहेको बताए ।