काठमाडौं - देशैभर अझै दुई/तीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।
अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।
गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ ।
यसैगरी चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ । कोशी, बागमती र गण्डकीमा एक/दुई दिनदेखि नै वर्षाको गतिविधि बढिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ ।बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।