काठमाडौं – वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका– २ घर भई काठमाडौं कागेश्वरी मनोहरा बस्ने मिङमार लामा र लमजुङ मध्यनेपाल नगरपालिका– ५ घर भई ललितपुर मगरगाउँ बस्ने प्रकाश बंशी ठकुरी रहेका छन् ।
पक्राउ परेका लामाले आकर्षक तलब हुने प्रलोभनमा पारी क्रोएसिया पठाइदिने भन्दै अमान बम्जनसँग तीन लाख रुपैयाँ लिएर ठगी गरेको बताइएको छ । उनले क्रोएसियाको प्रतिष्ठित कम्पनीमा काम मिलाइदिने भन्दै बम्जनसँग पटकपटक गरी उक्त रकम लिएर ठगी गरेको प्रहरीले जनाएको छ । लामालाई खोजतलासका क्रममा काठमाडौं बौद्धबाट पक्राउ गरिएको हो ।
त्यसैगरी पक्राउ परेका अर्का व्यक्ति ठकुरीले पोर्चुगल पठाइदिने भन्दै ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले विशाल चौहानसमेत तीन जनालाई पोर्चुगलमा आकर्षक तलवसहित प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको बताइएको छ । ठकुरीलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडितबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरुलाई वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।