देशकै पहिलो र प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएर विद्यार्थीको भविष्यमाथि गम्भीर खेलवाड गरेको छ । त्रिविले गत वैशाखमा स्नातक तह पहिलो वर्षको परीक्षा लिएको थियो । जसमध्ये जनसंख्या र शिक्षा विषयका १८३ विद्यार्थीको उत्तरपुस्तिका नै हराइदियो । गल्ती छोप्न त्रिविले यी विद्यार्थीलाई पुनः परीक्षा दिने निर्णय ग¥यो । त्रिविले यसका लागि चैत २१ गतेका लागि परीक्षा तोकेर दोषीमाथि कारबाही हुनेसमेत जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयलाई दोष दिँदै त्रिविले विद्यार्थीहरुलाई पुनः परीक्षा दिन जान आग्रह गरेको छ । त्रिविले फेरि परीक्षा दिएपछि यसको नतिजा निकाल्न एक वर्ष थप पक्कै समय लगाउला । यसरी एकपछि अर्को निर्णय गर्दा त्रिविले लापरवाहीको हद नाघेको छ ।त्रिविको लापरवाहीका कारण कैयन् विद्यार्थीले समयमा प्रमाणपत्र नपाउने, शैक्षिक क्यालेण्डरअनुसार तोकिएको समयमा कोर्स पूरा नहुने समस्याहरु छन् । जसका कारण त्रिविले बेरोजगार उत्पादन गर्ने कारखानाको उपनामसमेत कमाएको छ । प्राध्यायक तहमा दलगत राजनीति, विद्यार्थी तहमा भ्रातृ संगठनको राजनीतिका कारण थिलथिलो बनेको त्रिविको पढाइ गुणस्तर पनि उस्तै खस्कँदो छ । यही कारण नयाँ पुस्ता पढ्नमात्र पनि विदेसिन बाध्य हुन थालेको धेरै भयो ।
एकजना युवा देशमा नअडिँदा कति घाटा हुन्छ भन्ने हिसाबकिताब विश्वविद्यालयको प्राज्ञिक व्यक्तिहरुलाई थाहा हुनुपर्ने हो । तर दिनानुदिन नयाँ–नयाँ गल्ती गरेर त्रिविले भूलचुकमा रेकर्ड नै कायम गरिसकेको छ । त्रिविले अहिले उत्तर पुस्तिका हराएको विषयमा उच्चस्तरीय छानबिन गर्न समिति बनाएको छ । यो समितिलाई त्रिविले ३० दिनको समय दिएको छ । तर तोकिएको परीक्षा दिने वा नदिनेबारे केही बोलेको छैन ।
जबकि परीक्षा नियन्त्रण कार्यालयले चितवन बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखी क्याम्पसलाई पुनः परीक्षा गर्न निर्देशन दिइसकेको छ भने ती क्याम्पसहरुले परीक्षा सञ्चालन हुने सूचना पनि जारी गरिसकेको छ । उत्तरपुस्तिका हराएकोबारे समिति गठन गरेपछि पुनः परीक्षा समाधान हैन भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले घटना दोहोरिन नदिन सचेत गराएकी छन् ।
तर त्रिविले परीक्षा नियन्त्रण कार्यालयका त्यस समयका कर्मचारीलाई तुरुन्त बर्खास्त गरी परीक्षा रद्द गर्ने आँट भने गर्न सकेको छैन । यस किसिमको गैरजिम्मेवार मन्त्री, उपकुलपति, प्रधानमन्त्री र परीक्षा नियन्त्रण कार्यालय रहेको देशमा कसरी भविष्य देख्ने ? यसैले यस्तो विषयमा खेलाँची नगरी कुलपतिले परीक्षा नियन्त्रण कार्यालयका सम्बन्धित कर्मचारीलाई तुरुन्तै बर्खास्त गरी परीक्षा रद्द गरियोस् ।