काठमाडौं– राजधानीमा दशौँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ भइरहेको छ । मेलामा १० देशबाट आएका दुईसय ५० भन्दा बढी कलाकार सहभागी छन् ।
एभरेष्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गरे । कमलादीस्थित प्रज्ञा भवनमा शनिबार सुरु भएको मेलाको शुभारम्भमा बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी दश देशका कलाकारहरूले कला प्रस्तुत गरेका थिए ।
मब्रज कला कुञ्जका कलाकारहरूले कुमारी नृत्य प्रस्तुत गरेर सुरु भएको मेलामा अन्य देशले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए ।
नेपाली लोक संस्कृति संरक्षण तथा सम्वर्दन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्षअघि स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक संस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गर्दै आएको छ । मौलिक लोक सँस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले बताए ।
पर्यटन प्रवद्र्धनको उद्देश्यले भ्रमण वर्ष उत्सवकै रूपमा वर्षभरि मनाउने घोषणा गर्दा कोरोना भाइरस (कोभिड–१९) लगायत विभिन्न कारणले नेपालमा पर्यटक आउन सङ्कोच मानिरहेको सन्दर्भमा मेलामा सहभागी अन्तर्राष्ट्रिय कलाकारले नेपाल भ्रमण सुरक्षित छ भन्ने सन्देश बोकेर जाने कोइरालाले बताए । उनले आफूहरूले पर्यटन प्रवद्र्धनका लागि यति ठूलो कार्यक्रम आयोजना गरेको भएता पनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो पनि व्यक्त गरे । मेला २५ फागुनसम्म चल्नेछ ।