काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यानडामा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा सुदेश सुनुवार मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका–७ बेसीगाउँ ठेगाना भएका ४१ वर्षीय मुखियाले लेखनाथ भुर्तेललाई क्यानडा पठाई मासिक दुई लाख रुपैयाँभन्दा बढी तलबमा एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने विश्वास दिलाई रकम ठगी गरेको प्रहरीले जनाएको छ । मुखियाले पीडितसँग पटक–पटक गरी ४० लाख रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम संकलन गरी फरार रहेका उनलाई खोजतालासका क्रममा बौद्धबाट पक्राउ गरिएको बताइएको छ ।
मुखियाले पीडितबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।