काठमाडौंं - नेपालमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा विभिन्न देशबाट हवाई मार्ग हुँदै एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटक आगमनको सिजन सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्षको तुलनामा यो वर्ष २८.९ प्रतिशतले पर्यटकको आगमन बढेको हो । २०२३ को मार्च महिनामा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएकाे नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख रहेकाे छ।
पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक आउने गरेका छन् ।पछिल्लाे समयमा नेपाल भ्रमणमा आउने देशहरु भारत, चीन,अमेरिका, बेलायत, श्रीलंका , जमर्नी, थाइल्यान्ड, अष्ट्रेलिया, फ्रान्स र म्यानमारका नागिरकहरु रहेका छन् ।
यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार छ सय ९८ पर्यटक रहेका छन् ।चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार सात सय ६३ , बेलायतबाट सात हजार दुई सय ४१, श्रीलंकाबाट पाँच हजार सात सय ४१ जमर्नीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अष्ट्रेलियाबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना नेपाल आएका हुन् ।