- परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआर्ईको अंग भएको पुष्टि
- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरुले मागे पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नुको कारण
- वैदेशिक रोजगारीका धेरैजसो प्रशासनिक काम काठमाडौं केन्द्रित भएकोले भैरहवा र पोखराको विमानस्थलबाट उडान हुन नसकेको अधिकारीहरुको भनाइ
काठमाडौं– चैत ११ गते चीनको तीर्थ निस्केका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणको १९ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रेष्ठले यी सबैलाई महŒवका साथ प्रस्तुत गरे पनि बिआरआर्ईलाई प्राथमिकतामा राखेको दाबी गरे । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को कार्यान्वयन योजना बिआरआर्ई इम्प्लिमेनटेसन प्लान्टलाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै सम्झौता गरिसकेकोले अब अन्तिम रुप दिनमात्र बाँकी रहेको दाबी गरे । ‘बिआरआर्ईबारे प्रधानमन्त्रीको चीन भ्रमणमा समझदारी भइसकेको छ । यसैअनुसार यसपटक छलफल भएको हो । यसैलाई अन्तिम रुप दिएर सम्झौता हुन्छ,’ श्रेष्ठले भने ।चीनले लगानी गर्ने बिआरआर्ईलाई नेपालले कार्ययोजना दिनुपर्ने हुन्छ । तर नेपालले अहिलेसम्म कुनै कार्ययोजना दिन सकेको छैन । बिआरआर्ईको ढाँचाबारे नेपालमा विवाद जारी छ । यसैबारे प्रश्नमा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘हामी अनुदानमै फोकस गर्छौं, नेपालको हितका लागि गर्ने हो, अनुदान वा सहुलियतपूर्ण कर्जाबारे सहमति पछि हुने हो ।’
बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा बिआरआर्ईबारे छलफल भएको चिनियाँ विदेश मन्त्रालयले यसअघि नै पुष्टि गरेको छ । ‘चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न र विकास र समृद्धिका लागि मित्रताको चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ र उच्चस्तरमा पुर्याउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ,’ भेटपछि वाङले भनेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीको नौ दिने भ्रमणमा बिआरआर्ईलाई प्राथमिकतामा राखिएको भनिए पनि नेपाल सरकारले भने यसबारे कुनै जानकारी दिएको थिएन ।
काठमाडौं उत्रेपछिमात्र परराष्ट्रमन्त्री श्रेष्ठले यसबारे मुख खोलेका हुन् । नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ कोअपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बिआरआर्ई सम्झौतामा थप सृदृढ हुन चाहेको बताए ।
केन्द्रमा पोखरा विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले धेरैको तारो बनेको छ । चिनियाँ ऋण तिर्न नसकेर अहिले मुस्किल छ । २८ अर्ब रुपैयाँभन्दा बढी ऋण बोकेर पनि विमानस्थलले कुनै व्यापार गर्न सकेको छैन । परराष्ट्रमन्त्रीको चीन भ्रमणमा यो ऋण कटौतीबारे छलफल हुने बताइएको थियो । तर मन्त्री श्रेष्ठले यसबारे कुनै सहमति सुनाएनन् । पोखरा विमानस्थल बिआरआईकै एक परियोजना भएको चीनको दाबी छ । तर नेपाल सरकारले यसलाई अझै लुकाउँदै आएको छ ।
पोखरा विमानस्थलमा थप उडान सञ्चालन गर्न चीन सकारात्मक रहेको मन्त्री श्रेष्ठको भ्रमणको उपलब्धिमा उल्लेख छ । ‘नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरु सञ्चालनमा ल्याउन दुवै पक्ष सकारात्मक रहेको छ,’ श्रेष्ठले भने ।
संसदीय समितिमा उठ्यो प्रश्न
काठमाडौं (प्रस)– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरुले पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नुको कारण माग गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले व्यावसायिक योजना नभएकोले विमानस्थल सञ्चालनमा आउन नसकेको तर्क गरे । ‘पोखरा र भैरहवा एयरपोर्टको बिजनेस प्लान के ?,’ खनालले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रश्न गरे ।
एमाले सांसद भीम आचार्यले पोखरा विमानस्थल बनिसकेको हुनाले अब पर्यटकीय गतिविधि बढाएर सञ्चालनमा ल्याउन सकिने बताए । ‘पर्यटन गतिविधि तीव्र पार्नुपर्यो,’ आचार्यले भने, ‘भैरहवा र पोखरा एयरपोर्ट जसरी पनि चलाउनुपर्यो ।’पोखरा विमानस्थलको कमजोर व्यवस्थापनका कारण अन्तर्राष्ट्रिय विमान उडान ठप्प छ । चीनबाट दुई र भुटानबाट एक चार्टर उडानबाहेक यहाँ कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसबारे प्रश्न गर्दा निगमका कार्यकारी अध्यक्ष अधिकारी गोलमटोल जवाफ दिएर पन्छिन खोजे । समितिमा अधिकारीले सांसदहरुलाई आफूले यसबारे अध्ययन गरिरहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले भने सामाजिक विषयको सटिक जवाफ नहुने बताउँछन् । ‘विमानस्थल सञ्चालन र यसका बिजनेसका विषय सामाजिक हुन् । यसको वस्तुगत जवाफ हुन्न,’ काफ्लेले भने । वैदेशिक रोजगारका धेरैजसो प्रशासनिक काम काठमाडौं केन्द्रित भएकोले भैरहवा र पोखराको विमानस्थलबाट उडान हुन नसकेको अनौपचारिक छलफलका क्रममा उनले बताए । पर्यटनमन्त्री हितबहादुर तामाङ आफू मन्त्रालय सम्हाल्न आइपुगेको समय भर्खरै भएकोले अध्ययनकै क्रममा रहेको भन्दै पन्छिए ।