काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेशसभामा ५६ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।
प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरे पनि उनले यो पटक निकै कसरत गर्नुप¥यो । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्रीमा दाबी गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई विश्वासको मत जुटाउन सकस परेको थियो । अन्ततः केन्द्रीय नेताहरुबीच आलोपालोमा मुख्यमन्त्री दिने सहमति जुटेपछि बल्ल एकीकृत समाजवादी विश्वासको मत दिन तयार भएको हो । उक्त सहमति नजुटेको भए उनले विश्वासको मत पाउने थिएनन् ।
सहमतिअनुसार माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीले पालैपालो मुख्यमन्त्री पाउने भएको छ । हाल माओवादी केन्द्रकै मुख्यमन्त्रीेलाई निरन्तरता दिने र पछि एमाले र एकीकृत समाजवादीबाट पालैपालो मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
विश्वासको मत लिने सोमबारको प्रदेशसभा बैठकमा १०८ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए । जसमध्ये सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने तटस्थ बसेका छन् । प्रदेशसभामा राप्रपाको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेका छन् । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित रहे । उक्त पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दै छ । यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थनमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।
संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।