काठमाडाैं - सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले रोजगारीका लागि विदेश जाने नेपालीहरुको मासिक न्यूनतम तलब एक लाख रुपैयाँ तोक्नुपर्ने बताए । उनले अब विदेश जाने नेपालीलाई एक लाख तलब हुने गरी पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
वैदेशिक रोजगारीमा जानेहरुलाई ‘फ्रि भिसा, फ्रि टिकट’ भने पनि त्यो अवसरबाट वञ्चित गरिएको उनले बताए ।‘विदेश जानेहरुलाई दुई/तीन लाख लिएर पठाउने गरिएको छ,’ सांसद राईले भने, ‘यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।’ विदेश गएकाहरुले भनेजस्तो काम नपाइरहेको भन्दै उनले तोकेअनुसारको काम गर्ने कम्पनी र तलब नपाउँदा युवाहरुले सास्ती भोग्नु परेको बताए ।
‘कतिले काम पाइरहेका छैनन्, कतिले काम गरेबापत तलब पाइरहेको छैनन्, कति युवा विनाकारण जेल परेका छन्, सरकारले यस्तो समस्या समाधानका लागि पहल गरोस्,’ उनले भने ।