काठमाडौं – वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकाउमा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
सोलखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ घर भई हाल काठमाडौं कपन बस्ने गुरुङले छविमाया मगरसमेत १० जनालाई मकाउ पठाइ एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने विश्वास दिलाएर रकम ठगी गरेको प्रहरीले जनाएको छ । गुरुङले पीडितहरुसँग पटक–पटक गरी २० लाख ८५ हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम संकलन गरी फरार रहेका उनलाई खोजतलासका क्रममा कपनबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङले पीडितहरुबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।