काठमाडाैं - बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि टुंग्याइएको छ ।
मन्त्रीहरूको शपथ ५ बजेका लागि सारिएको छ । यसअघि तीन बजे शपथ हुने भनिएपनि भागबण्डाको विषयले पर धकेलिएको हो। सहमतिअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।
तर, एमालेबाट मंगलबार थपिने ४ सहित ५ जना मन्त्री बन्दा बागमतीमा १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ । हाल मन्त्रिपरिषद् १२ जनाको मात्रै भएकाले अब एक जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने सहमति जुटेको छ ।
बैठकमा एकीकृत समाजवादीलाई दुई मन्त्रालयमा चित्त नबुझेकाे बताइएकाे छ ।अहिलेलाई एमालेबाट चारै जनालाई मन्त्रालयसहित तोकेर शपथ गराउने र आगामी दिनमा छलफल गरेर एकीकृत समाजवादीका विनाविभागीय मन्त्री रमा आलेको मन्त्रालयबारे टुंगो लगाउने बताइएको छ।