काठमाडौं– पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका १५ सयभन्दा बढी नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० को अवधिमा एक हजार ५०२ जना नेपाली कामदारको सडक दुर्घटनामा परेर मृत्यु भएका हुन् ।
सडक दुर्घटनामा परी मृत्यु हुने क्रम बढ्दो देखिएको छ । सडक दुर्घटनासँगै अन्य कारणले मृत्यु हुने संख्या पनि बढेको बोर्डले जनाएको छ । पछिल्लो आर्थिक वर्ष अर्थात् आव २०८९/८० मा सबैभन्दा बढी १४३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।बोर्डको तथ्यांकअनुसार आव २०६५/६६ मा विभिन्न मुलुकमा रोजगारीका लागि गएका आठ जनाको मात्रै सडक दुर्घटनामा ज्यान गएको थियो ।
त्यसपछि यो संख्या क्रमशः बढ्दै गएको तथ्यांकमा देखिन्छ । बोर्डका अनुसार आव २०६६/६७ मा ६७ जना, २०६७/६८ मा ६० जना, आव २०६८/६९ मा १०१ र २०६९/७० मा १०४ जनाको मृत्यु भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७०/७१ मा सडक दुर्घटनामा ज्यान गुमाउने नेपाली कामदारको संख्या ११२ पुग्यो । आव २०७१/७२ मा १२१ जना, २०७२/७३ मा १०३ जना, आव २०७३/७४ मा १२२ जना, आव २०७४/७५ मा १२७ जना, आव २०७५/७६ मा ११५ जना, आव २०७६/७७ मा ७६ जना, आव २०७७/७८ मा ११४ जना, आव २०७८/७९ मा १२९ र आव २०७९/८० मा १४३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ ।
मृत्यु हुने अधिकांश साउदी अरेबिया, कतार, ओमान, कुवेत, बहराइन, युएई र मलेसियामा गएका कामदार रहेका छन् । बोर्डका अनुसार विदेशमा मृत्यु हुने कूल संख्याको करिब २० प्रतिशत सवारी तथा सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपालीहरुलाई सवारी तथा सडक दुर्घटना र त्यसबाट हुने क्षतिबारे जानकारी दिइने गरे पनि पर्याप्त नभएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतिले बताए ।
‘यसलाई कम गर्न कामदारहरुलाई विदेश जानुअघि नै पूर्वसावधानी तथा सुरक्षा र नियमहरुको जानकारी दिन बोर्डले कडाइका साथ अनिवार्य कक्षाहरु सञ्चालन गर्न लागेको छ,’ उनले भने, ‘बोर्डले अभिमुखीकरण तालिमका लागि पाठ्यक्रम संशोधन गर्नुका साथै विदेशमा पनि जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।’
कुन आर्थिक वर्षमा कति ?
आव २०६५/६६: ८ जना
आव २०६६/६७: ६७ जना
आव २०६७/६८: ६० जना
आव २०६८/६९: १०१ जना
आव २०६९/७०: १०४ जना
आव २०७०/७१: ११२ जना
आव २०७१/७२: १२१ जना
आव २०७२/७३: १०३ जना
आव २०७३/७४: १२२ जना
आव २०७४/७५: १२७ जना
आव २०७५/७६: ११५ जना
आव २०७६/७७: ७६ जना
आव २०७७/७८: ११४ जना
आव २०७८/७९: १२९ जना
आव २०७९/८०: १४३ जना