काठमाडौं– पछिल्लो निर्वाचनबाट वैकल्पिक शक्तिका रूपमा उदायको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू विभिन्न प्रकरणमा मुछिँदै आएका छन् । एकपछि अर्को प्रकरणमा नेतृत्व मुछिने क्रम नरोकिएपछि नयाँ दलमाथि प्रश्न उठ्न थालेको छ । पछिल्लो समय चर्किएको सहकारी ठगी प्रकरणमा पनि रास्वपाका नेताहरु चोखो रहेनन् ।
उक्त पार्टीका सभापति रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा मुछिएका छन् । यद्यपि, विवादकाबीच उनले ठगीको अनुसन्धान गर्ने मुख्य निकाय गृह मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाएका छन् । उनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद्मा विरोध जनाइरहेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति गृहमन्त्री बन्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने र उक्त प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । तर सत्ता गठबन्धनले संसदीय छानबिन समिति गठनको औचित्य नभएको भन्दै गृहमन्त्री लामिछानेको बचाउ गर्दै आएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिने रास्वपाका नेतामा लामिछानेमात्रै होइनन् । उपसभापति डोलप्रसाद अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । यसअघि श्रममन्त्री हुँदा पनि उनी विवादमा तानिएका थिए । अहिले उनीमाथि जनताको बचत रकम हिनामिना गरेको आरोप लागेको छ ।
अर्याल यसअघि ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष भएको बेला निक्षेपकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको तथ्य बाहिरिएको छ । उनी उपाध्यक्ष रहेको सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई गत माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ । उक्त सहकारीको सञ्चालक रास्वपाका सहमहामन्त्री बुर्लाकोटी पनि थिए । जसकारण उनी पनि सो ठगी प्रकरणमा मुछिएका हुन् ।
नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष अर्याल भएकै बेला २६ जना निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै आवेदन दिएका थिए । सहकारीबाट रकम भने पाएनन् । यसपछि निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दर्ता गराएका थिए । यही प्रसंगलाई कांग्रेसले संसद्मा उठाएको छ । कांग्रेस सांसद रामकृष्ण यादवले मंगलबार संसद् बैठकमा ठगी प्रकरणको विषय उठाएका हुन् ।
‘श्रममन्त्री डोलप्रसाद (डिपी) अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी पैसा फिर्ता नपाएको विषय आएको छ । अर्यालमात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए,’ कांग्रेस सांसद यादवले भने । उनले हाम्रो कृषि सहकारीमा अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई अध्यक्ष बनाएर भित्र्याएको पनि बताए ।
‘डिपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा उक्त सहकारीको अध्यक्षका रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याएको देखिन्छ,’ उनले बैठकमा भने, ‘राईलाई अध्यक्षका रूपमा भित्र्याएर श्रममन्त्री अर्याल बाहिरिएको पाएको छु ।’सहकारीको उपाध्यक्ष रहँदा रास्वपाका अध्यक्ष लामिछानेका तत्कालीन व्यावसायिक साझेदार राईलाई सहकारीमा भित्र्याएर अर्याल २०७९ मा संस्थाबाट अलग भएका थिए । यसबारे पनि कांग्रेस सांसद यादवको प्रश्न छ ।
‘डिपीजीले नै जिबी राईलाई सहकारीमा ल्याउनुभयो । उहाँ छँदै सहकारी समस्यामा परेको थियो,’ उनले भने, ‘तत्कालीन अध्यक्ष सूर्य गुरुङको कार्यकाल बाँकी छँदै जिबी राई आएपछि गुरुङले सहकारीको सञ्चालक समिति छाडेका थिए ।’उक्त सहकारीलाई भूमि व्यवस्था मन्त्रालयले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम हाम्रो नयाँ कृषि सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।
उक्त कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले भने ३४ जना निक्षेपकर्ताको चार करोड रुपैयाँ हिनामिना गरेको आरोप अर्यालसँगै बुर्लाकोटीलाई लागेको छ । ठगीका पीडितहरूले जिबीलाई ल्याएपछि अर्यालको टिम सहकारीबाट बाहिरिँदा पीडितले सहकारीको निक्षेप फिर्ता पाउनुपर्ने भन्दै विभागमा उजुरी दर्ता गरेका थिए । सहकारीमा आफू उपाध्यक्ष बसेको रास्वपा उपसभापति तथा श्रममन्त्री अर्यालले स्वीकार गरिसकेका छन् ।
तर, गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने अर्याल र बुर्लाकोटीको बचाउमा उत्रिए । उनले कसैले ठाडो उजुरी दिएकै भरमा कसैमाथि आरोप लगाउन नहुने बताए । उनले कसैमाथि प्रश्न उठ्नेबित्तिकै आत्तिहाल्न नहुने जिकिर गरे ।सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कको नाममा लिएको प्रमाण नै सार्वजनिक भइसकेको छ । जसआधारमा उनीमाथि कांग्रेसले प्रश्न उठाएको हो । यसअघि रास्वपाकै पूर्वनेता डा. ढाकाराम श्रेष्ठ पनि पोखराको एक सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । तर, पछि अर्को प्रकरणमा जोडिएपछि पार्टीबाट उनी निष्कासनमा परे ।