काठमाडौं - वैदेशिक रोजगारीका लागि युके र फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी छ करोड २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ का केदार चौधरी, पोखरा लेकसाइड बस्ने नन्ददेवी पुन र बाँकेको कोहलपुर नगरपालिका–१० बस्ने जिवराज केसी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीले आकर्षक तलवमा युके पठाइदिने भन्दै सुमन राईसमेत ३५ जनासँग छ करोड रुपैयाँ लिएर ठगी गरेको बताइएको छ । उनले पीडितहरुलाई युके पठाइदिन्छु भनी प्रतिव्यक्ति नौ लाखदेखि २० लाख रुपैयाँ लिएर आइरिस एक्स्पर्ट कन्सल्टेन्सीमार्फत कतिपयलाई अजरबैजानसम्म पुर्याई अलपत्र पारी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चौधरीलाई खोजतलासका क्रममा काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी पुनले पनि युके पठाइदिने भन्दै सात लाख ६७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनले रोशनी चौधरीलाई युकेमा आकर्षक तलवसहित प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको बताइएको छ । पुनलाई पोखरा लेकसाइडबाटै पक्राउ गरिएको हो ।
यस्तै अर्का आरोपी केसीले आकर्षक तलबमा फ्रान्स पठाउने र राम्रो काम लगाइदिने विश्वास दिलाई पीडितसँग रकम लिएर ठगी गरेको बताइएको छ । उनलाई सुमनकुमार बस्नेतबाट ११ लाख ६५ हजार रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
पीडितबाट रकम लिएर सम्पर्कविहीन भएका उनीहरुलाई वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरु तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।