काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका लागि इराकमा श्रम स्वीकृति खुला गर्न माग गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई बुधबार भेटेर उक्त माग गरेको हो ।
भेटका क्रममा मन्त्री अर्यालसँग वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुकभित्रै रोजगारी सिर्जना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न अध्यक्ष केसीले आग्रह गरे । रोजगारीका लागि विभिन्न मुलुकमा जाने नेपालीलाई सहजीकरण आफूहरु प्रतिबद्ध रहेको केसीले बताए । ‘अवैधरुपमा थुप्रै नेपालीहरु इराक गइरहेका छन्,’ उनले भने, ‘त्यसरी जाने नेपालीहरुलाई सुरक्षाको ग्यारेन्टी गरेर श्रम स्वीकृति खुला गर्नुपर्छ ।’
यसैगरी अहिले कुवेत सरकारले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिने व्यवस्था गरेको अध्यक्ष केसीले जानकारी गराए । ‘कुवेतले गरेको व्यवस्थाका कारण थुप्रै नेपालीले फाइदा लिन सक्छन्,’ उनले भने, ‘यसरी गैरकानुनी रुपमा बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि सरकारले सहजीकरण गर्नुपर्छ ।’ यसका लागि एनआरएनएले पनि सहयोगी भूमिका निर्वाह गर्ने केसीले बताए । उक्त भेटमा एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारी जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न आग्रह गरिन् ।
त्यस्तै मन्त्री अर्यालसँगको भेटमा ध्यानाकर्षण गराउँदै एनआरएनएको प्रतिनिधिमण्डलले ज्ञापनपत्रसमेत बुझाएको छ । जसमा श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा एनआरएनएलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुला गर्न, औपचापरिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गर्न माग गरिएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा एनआरएनएसँग समन्वय गर्न पनि माग गरिएको छ ।
मन्त्री अर्यालले एनआरएनएको प्रतिनिधिमण्डलले दिएको सुझाव मनन गर्ने र कतिपय मागहरुमा आगामी दिनमा छलफल गर्ने प्रतिक्रिया दिए । उनले श्रमिकको हित हुने कार्यमा एनआरएनएसँग समन्वय गरी अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।