काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउलीबीच भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जनामात्र नभई श्रमबजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताए । मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रमबजारको स्थापना, स्वरोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए ।
भेटमा नेपालका लागि स्वीस राजदूत डा. डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवा केन्द्र सुदृढीकरणको बारेमा चर्चा गरे । स्वीस सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता विकासमा केन्द्रित छ ।
उक्त भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जविस र एफसिडिओका प्रतिनिधि पनि सहभागी थिए । विश्व बैंकका नेपाल निर्देशक जविसले विश्व बैंकको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ (यति) को अवधि थप गर्न विश्व बैंक इच्छुक रहेको बताए ।
उनले आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्धन, सीप विकासका कार्यक्रम सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण र स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता विकास गरी एकीकृत श्रम रोजगार सेवालाई प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको बताए ।
सन् २०२० जुन ३० देखि विश्व बैंकको सहयोगमा मन्त्रालयले ‘यति’ परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनामार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सिर्जना, श्रमिकको सीप विकास, श्रमबजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिबद्धता गरेको छ । आगामी जुन महिनामा परियोजनाको अवधि सकिँदै छ ।