नेपालीको रगत रगतमै राजनीति भिजेको हुन्छ भन्ने कुरा विदेशिएको नेपालीलाई हेरे पुग्छ । विद्यार्थी हुँदा विद्यालयमा होस् या टोलमा खानेपानी समितिमा बस्दा राजनीति सिकेकै हुन्छन् । नानीदेखि लागेको बानी विदेशमा पुगेर कसरी कार्यान्वयनमा ल्याउने ? एक त युएई, साउदी, कतारजस्ता देशमा खुला रुपमा राजनीतिक गतिविधि गर्नै अवैध छ ।
अर्को अमेरिका र बेलायतजस्ता देशमा पनि नेपालीलाई खुला रुपमा राजनीति गर्ने समय हुँदैन । यही पीडा पोख्ने थलोका रुपमा गैरआवासीय नेपालीले एउटा मञ्च बनाए । त्यसको नाम राखियो गैरआवासीय नेपाली संघ–एनआरएनए । यही एनआरएनए दसैंको अवसरमा नेपाल भ्रमण पनि हुने, टीका लगाउन पनि पाउने र चुनावमा पनि भाग लिन पाउने आशमा ‘भ्याकेसन’ मनाउन आइपुग्छन् । चुनावका नाममा होहल्ला गर्दै भाँडभैलो मच्चाउछन् ।
कुनैबेला नेपाली राजनीतिका नेताहरुलाई समेत राजनीति कसरी गर्ने भनेर सिकाउन खोज्ने एनआरएनए अहिले भने थङथिलो बन्दै गएको छ । कारण हो चरम राजनीतिकरण । जसलाई पनि अध्यक्ष पद चाहिने । तर नेपाली राजनीतिको दुत्कार्न भ्याउने । यही एनआरएनएको १०औं महाधिवेशन यस्तो रोचक रह्यो कि, तीन–तीन जना अध्यक्ष बनाएर जग हँसाउने काम ग¥यो । हुन त यस्तो राजनीति नेपालका साना दलमा पनि अक्कलझुक्कल देखिने गर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यो अभ्यास गरेकै हो ।
जसका कारण राप्रपाको साइज अहिले देखिएकै छ । त्यस्तै हविगतमा पुगेको छ एनआरएनए पनि । पछिल्लो महाधिवेशनले विधानविपरीत कुल आचार्य, बद्री केसी र रविना थापा एकैचोटि अध्यक्ष बनाएको घटना र ११औं महाधिवेशनमा मतगणनामै घोटाला भएपछि दुवै कार्यसमितिलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अझ एनआरएनए ललिता निवासको जग्गामा बनेको भवनमा ढुक्कसँग बसिरहेकै छ । यिनै एनआरएनए अभियन्ताहरुले नेपाली राजनीतिलाई दुत्कार्दै ‘नो नट अगेन’ अभियानसमेत चलाए । आफू भने मुतको न्यानोमा बसेर एनआरएनए अभियन्ताहरुले कलहको राजनीति गर्न छाडेन ।
एनआरएनएको विधिविधानलाई नेपाल सरकारको मन्त्रालयले पनि साथ दिएकै थियो । यस्तो अवस्थामा सर्वोच्चले एनआरएनए बन्धुहरुलाई सबक सिकाइदिएको छ । अब छ महिनामा एनआरएनले अर्को नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर एनआरएनएलाई चुनावी ह्याङओभरले छाड्ने देखिन्न । नसानसामा लागेको राजनीति जुनसुकै बेला तरंगित हुन सक्छ । तर धूमपान हानिकारक छ भनेर कक्षामा पढाउने शिक्षकले बाहिर निस्केर चुरोटको सर्को तानेझैं त गर्न भएन है !