काठमाडाैं - एक कराेड असी लाखले उपनिर्वाचनमा मतदान गर्ने भएकाे निर्वाचन आयाेगले अन्तिम नामावली प्रकाशन गरेकाे छ । आज बसेकाे बैठकबाट २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी २०८० फगुन २९ गतेदेखि २०८० चैत ५ गतेसम्म देशभर सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०ू अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेवसाईटमा प्रकाशन गरेकाे हाे ।
स्वीकृत मतदता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१/०१/१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८,८६,२२६, पुरुष मतदाता ९२,०२,५६९ र अन्य मतदाता १८८ गरी कूल १,८०,८८,९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।
यस विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३,६२,९७३ पुरुष मतदाता ३,७६,४११ र अन्य मतदाता ६ गरी जम्मा ७,३९,३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३,५३० र पुरुष मतदाता ३,३१९ गरी जम्मा ६,८४९ मतदाता रहेका छन्।
मिति २०८०/०१/१० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० का लागि महिला मतदाता ८८,५२,०४६, पुरुष मतदाता ९१,४९,३३५ र अन्य मतदाता १८५ गरी जम्मा १,८०,०१,५६६ मतदाता रहेकोमा हाल ८७,४१७ मतदाता थप भएका छन्।
उक्त निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा १,१५,४६७ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१,११० मतदाता रहेकोमा २०८१/०१/१५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा ४२२ थप भई १,१५,८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८ थप भई ६१,७४८ मतदाता कायम भएका छन्।