काठमाडौं– चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) गतवर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’मा साउनदेखि फागुन मसान्तसम्म विप्रेषण आप्रवाह २१ प्रतिशतले बढेर नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको देखिएको छ । यो वृद्धिदर अघिल्लो वर्ष २५.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । फागुन महिनामा मात्रै एक खर्ब २२ अर्ब विप्रेषण आप्रवाह भएको छ ।
प्रतिवेदन अनुसार मासिक रुपमा औसत १ खर्ब २० अर्ब १५ करोडको हाराहारीमा विप्रेषण भित्रिरहेको देखिएको छ । गतवर्ष मासिक रुपमा औसत १०१ अर्ब विप्रेषण भित्रिएको थियो । यो तथ्यांकले आठ महिनाको अवधिमा विप्रेषण आप्रवाह बढेको देखाएको छ ।
यसैगरी चालु आर्थिक वर्षको यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ८६ हजार ८३२ जना रहेको तथ्यांकमा देखाइएको छ । साथै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा एक लाख ८४ हजार २७८ जना रहेका छन् । अघिल्लोे वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ५१ हजार ७६१ र एक लाख ९२ हजार ५५९ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा हुने खुद ट्रान्सफर गत आवभन्दा १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
तसर्थ मुलुकको अर्थतन्त्रको करिब २५ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको विभिन्न अध्ययनले देखाएको छ । विप्रेषणकै कारण विदेशी मुद्रा सञ्चितीसमेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा दैनिक करिब दुई हजारको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी विदेशिने श्रमिकहरुले पठाउने रेमिट्यान्सबाटै मुलुकको अर्थतन्त्र चलिरहेको छ । पछिल्लो समय सरकारले जीटुजी सम्झौतामार्फत रोमानिया, जर्मनी र जापानमा कामदार पठाउने बाटो खुला गरेपनि अपेक्षित रुपमा नेपाली जान पाएका छैनन् । यद्यपि उल्लेखित मुलुकमा दक्ष जनशक्ति पठाउन सके विप्रेषण आप्रवाह ह्वात्तै बढ्ने विज्ञहरुको भनाई छ ।
।