निर्वाचन भएको १६ महिना नबित्दै प्रदेशहरुमा सरकारको परिवर्तनका लहर फेरि चर्किएको छ । संघीय गठबन्धन फेरबदल भएसँगै प्रदेशहरुमा सत्ता हेराफेरीको खेल शुरु भएको हो । यो खेलमा गण्डकी सातै प्रदेशका प्रदेश सभा सदस्यहरु सामेल भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै राजीनामा दिइसकेका छन् । सत्ता टिकाउने अनेक तिकडम गर्दा पनि नसकेपछि लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि बिहीबार राजीनामा दिएका छन् ।
राजीनामा दिने तीन जना कांग्रेसका हुन् भने कर्णालीमा भने संघीय गठबन्धनको नेतृत्व गरिरहेकै दल माओवादीका नेता हुन् । एमाले नेतासँग आलोपालो मिलाउन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शर्मालाई राजीनामा दिन लगाएको बताइन्छ । यो रोग अब बाग्मतीमा पनि सर्ने देखिन्छ । कोशीमा के गर्ने भन्ने विषय अहिले गठबन्धनको लागि टाउको दुखाइको विषय बनेको छ । यस्तो अवस्थामा मधेशमा मात्र मुख्यमन्त्री फेरिएका छैनन् । यहाँ जनता समाजवादी पार्टीका सरोजकुमार यादव मुख्यमन्त्री छन् । यसो त यहाँ मन्त्रिपरिषद् भने पटकपटक पुनर्गठन भइसकेको छ ।
पछिल्लो समय मुख्यमन्त्रीहरुलाई प्रेसरको जाँच लिए झैं विश्वासको मत छ कि छैन भनेर जाँचिरहनुपर्ने अवस्था छ । यो प्रकरण फेरि शुरु हुँदैछ । छोटो समयमै प्रदेशमा मन्त्रीहरुको संख्यामा तेब्बरले बढोत्तरी हुँदा एक त मन्त्रीको स्तर खस्कँदो छ भने संघीयतामाथिको अविश्वास बढ्न थालेको छ । संघीयताविरोधीले यसबारे प्रश्न उठाउन थालेका छन् । देशकै कान्छो व्यवस्था प्रदेश प्रणालीमा दलहरु मिलेर बेस्सरी प्रहार गरिरहेका छन् । यसले पक्कै पनि दलका नेताहरुलाई फाइदा होला, नेता व्यवस्थापन थलो बन्न सफल होला, तर संघीयताको मर्ममाथि भने प्रहार भएको छ ।
२०७९ मंसिरमा निर्वाचन सम्पन्न यता एकाधबाहेकका प्रदेशहरुमा तीनपटक मुख्यमन्त्री फेरिइसकेका छन् । यही रफ्तारमा जाने हो भने प्रदेशमा पाँच वर्षमा ५६ जनाले मुख्यमन्त्रीमा अवसर पाउने देखिन्छ । यसले देशमा पूर्व मुख्यमन्त्रीको क्लब चाँडै बन्ने प्रष्ट हुन्छ । पूर्व मुख्यमन्त्रीहरु मिलेर फुटबल क्लब वा क्रिकेट क्लब नै खोल्न सकिने देखिन्छ । यस्तो लज्जास्पद राजनीतिमा दलहरुले खिचातानी गरेर संघीयताको मर्ममाथि प्रहार गरिनु दुखद् हो । यस विषयमा राजनीतिक शक्तिहरुले बेलैमा सोचविचार पु¥याउन आवश्यक देखिन्छ ।