काठमाडौं– वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बृहत् वनभोज कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले शनिबार भक्तपुरको घ्याम्पेडाँडामा सांगीतिक कार्यक्रसहित वनभोज आयोजना गरेको हो ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेलगायतका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो । पूर्वश्रममन्त्री रामेश्वर राय, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेलसहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्षहरु एवं व्यवसायीहरुका विभिन्न जातीय, भेगीय र घटक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रममा कलाकारहरु फुलकुमार बम्जन, श्याम राना मगर, सुमना थापा, संगीता थापा सारु मगरलगायतका कलाकारहरुले सांगीतिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । वनभोज कार्यक्रममार्फत वैदेशिक रोजगार क्षेत्रलाई व्यवसायीमाझ साझा थलोको रुपमा विकास गर्न मञ्चले उल्लेख्य भूमिका निर्वाह गरेको संघका अध्यक्ष भण्डारीले बताए । उनले यस्ता कार्यक्रमले सम्पूर्ण व्यवसायीहरुमा सुमधुर सम्बन्ध स्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायी सदस्यहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउन र आत्मियता प्रकट गर्न वनभोज कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष धनलाल जैशीले बताए । ‘व्यवसायीबीच आपसी सम्बन्ध र भाइचारा कायम गर्ने उद्देश्यका साथ पहिलेदेखि वनभोज कार्यक्रम आयोजना गर्न थालिएको हो,’ उनले भने ।